जन सरोकार

मेलम्चीको पानी काठमाडौं ल्याउने प्रक्रिया सुरु : सुरुङमा पानी हालेर परीक्षण

साढे दुई दशकदेखिको प्रतिक्षामा रहेको मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । अहिले परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रति सेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिएको छ ।

२६ किलोमिटर सुरुङमा आइतबार पानी छोडिएपछि आयोजना नयाँ चरणमा प्रवेश गरेको सरकारको दावी छ । काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो ।

हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

यसबीच खानेपानी मन्त्रालयले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै विभिन्न समस्या र चुनौतीहरु पार गर्दै काठमाडौंबासीको दुई दशकभन्दा लामो ब्यग्र प्रतीक्षालाई सम्बोधन गर्ने क्रममा सुरुङमा पानी पथान्तरण गरेसँगै आइतबारदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको जनाएको छ ।

परीक्षणका लागि छाडएको पानीले २६ किलोमिटर सुरुङ भरिन करिब १५ देखि २० दिनसम्म लाग्ने अनुमान छ । पूर्ण भरिएको सुरुङलाई करिब १० दिन यथास्थितिमा राखिनेछ र त्यसपछि पानी भरिएकै दरमा सुरुङ खाली गरिँदा पुन १५ –२० दिन लाग्न जानेछ ।

सुरुङ खाली भएपछि सुरुङको अवस्थाको पूर्ण परीक्षण गर्न ७ दिन लाग्ने आयोजनाले जनाएको छ । त्यसबेला केही समस्या देखिएमा समाधान गर्ने र त्यसपछि नियमित रुपमा सुरुङमा पानी छाड्ने आयोजनाको भनाइ छ ।

त्यसो त सरकारले भनेअनुसार असारमै सुन्दरीजल आइहाले पनि उपभोक्ताले तत्कालै मेलम्चीको पानी पाउने अवस्था हुँदैन । मेलम्चीको पानी वितरण गर्न सहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन् । आठवटा नयाँ ट्यांकीमा पानी पुर्यापउन ठूला पाइपहरू जोडिएका छन् ।

आयोजनाको ट्याङ्की र वितरण पाइपलाइनको सफाइ एवं परीक्षण गर्न नै तीन महिनाभन्दा बढी लाग्ने अनुमान छ । चक्रपथ आसपासका एक तिहाइ क्षेत्रमा पुरानै पाइपबाट मेलम्चीको पानी वितरण हुनेछ । महाराजगञ्ज, धुम्बाराही, सामाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी छ । पुरानो पाइपलाइन निकै पुरानो भएकाले ‘लिकेज’को समस्या पनि ठूलो छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.