एकैदिन ७३ प्राकृतिक प्रकोपका घटना : दुई जनाको मृत्यु, एक बेपत्ता
अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७३ वटा प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि आज बिहान ८ः४५ बजेसम्मको अवधिमा भएका घटनामा बाढी, पहिरो, सर्पदंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना समावेश छन् ।
प्राधिकरणको तथ्याङ्कअनुसार उक्त अवधिमा पहिरोका ४० घटना दर्ता भएका छन्, जसबाट २६ जिल्ला प्रभावित बनेका छन् । पहिरोका कारण दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले घट्टमा पीठो पिस्न जाँदा पहिरोमा पुरिएर कालीकोटस्थित सान्नीत्रिवेणी–६ धाँमीगाउँका ४६ वर्षीय मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउदको मृत्यु भएको जानकारी दिनुभयो ।
यस्तै बाढीका १४ घटनाले १० जिल्ला प्रभावित भएका छन् । बाढीका कारण एक जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । मकवानपुर जिल्लामा बाढीका कारण एक जना स्कुटरसहित बेपत्ता भएको प्रवक्ता महतले बताउनुभयो ।
त्यसैगरी, अविरल वर्षाका १२ घटनाबाट आठ जिल्ला प्रभावित भएका छन् । सर्पदंशका चार, आगलागीको एक तथा वन्यजन्तु आक्रमणका तीन घटना दर्ता भएका छन् ।
जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश स्थानमा भारी वर्षा भएको जनाएको छ । विभागका अनुसार देशभर रहेका ३८० वर्षा मापन केन्द्रमध्ये २७८ केन्द्रमा वर्षाको रेकर्ड गरिएको छ । तीमध्ये ८३ केन्द्र मानव सञ्चालित र २९७ केन्द्र स्वचालित रहेका छन् ।
गत २४ घण्टामा चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा सबैभन्दा बढी ३१९.८ मिलीलिटर वर्षा मापन भएको विभागले जनाएको छ । सो केन्द्र आसपासका तीन स्थानमा २०० मिलीलिटरभन्दा बढी वर्षा भएको छ ।
विभागका अनुसार देशभर २६ वटा केन्द्रमा १०० मिलीलिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ । निरन्तर वर्षासँगै नदी तथा खोलामा बहाव बढ्ने, पहिरो खस्ने तथा सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।




प्रतिक्रिया राख्नुहोस्