नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी र खाँणसहित, को-को ठहरिए दोषी ?
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको फैसला गरेको छ । सोमबार जिल्ला अदालत काठमाडौंले फैसला गरेको हो ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएका अधिकांश आरोपी कसुर ठहर भएका छन् । आरोपितहरूमध्ये सात जनाबाहेक सबै दोषी ठहर भएका छन् ।
एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुर र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई राज्यविरुद्धको कसुर मतियार रहेको काठमाडौं जिल्ला अदालतले फैसला गरेको छ । टोपबहादुरसहित राज्यविरुद्धको कसुरमा दोषी ठहर हुनेहरूमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र आङटावा शेर्पा छन् ।
त्यस्तै, राज्यविरुद्धको कसुरमा मतियार रहेकामा बालकृष्णसहित टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल रहेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी अधिकारी समेत संलग्न भएको भन्दै मुद्दा चलाइएको थियो ।
२०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो ।




प्रतिक्रिया राख्नुहोस्