राजनीति

गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजीको विवरण सङ्कलन सुरु

जनकपुरबाट पैदल यात्रा गरी काठमाडौँ हिँडेका मिटरब्याज पीडितलाई भेट्न बाराको निजगढ पुग्नुभएका गृहमन्त्री सुधन गुरुङले पीडित र पीडकको विवरण तत्काल सङ्कलन गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

निजगढमा मंगलबार पीडितको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले सोही स्थानबाटै विवरण सङ्कलनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको हो । गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले मिटरब्याजमा संलग्न व्यक्तिको विवरण सङ्कलन सुरु गरेको छ ।

पीडितको समस्या सुनेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोनमा अवस्थाको जानकारी गराउँदै आवश्यक छलफल गर्नुभएको थियो । पीडितको समस्या सुनेपछि आगामी कदमका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेको उहाँले जानकारी दिनुभयो ।

गृहमन्त्री गुरुङले करिब ६ घण्टासम्म पीडितका कुरा सुन्नुभएको थियो । अधिकांश पीडितले सुरक्षा निकाय र न्यायालयबाट न्याय पाउन नसकेको भन्दै गुनासो गरेका थिए । गृहमन्त्री गुरुङले मिटरब्याजको समस्या समाधान गर्न आवश्यक ऐन, नियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

पीडितसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले पीडितलाई न्याय दिने प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँले विवरण सङ्कलनपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । गृहमन्त्रीसँगको भेटपछि मिटरब्याज पीडित निजगढमै रोकिएका छन् ।

न्याय नपाएको भन्दै जनकपुरबाट मिटरब्याज पीडित यही असार २५ गते पैदल यात्रामा निस्किएका थिए । निजगढमा सोमबार साँझ आइपुगेका उनीहरुलाई उद्योग वाणिज्य सङ्घको भवनमा राखिएको थियो ।

यसैबीच निजगढमा पीडितसँग भेटेर फर्किनुभएका गृहमन्त्रीले साँझ सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको थियो । मिटरब्याजसम्बन्धी मुद्दा र सुरक्षा संवेदनशीलताको विषयमा उहाँले सुरक्षा अधिकारीसँग छलफल गरिरहनुभएको बुझिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.