राजनीति

पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छ : बाँस्कोटा

पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सांसद गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताउँदै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ नदिने बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई शनिबार बनेपामा सम्बोधन गर्दै सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलोपल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले प्रश्न गर्नुभयो, “वर्तमान सरकारले गणतन्त्रलाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?”

बाँस्कोटाले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो “जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई आत्मसात् गर्नुपर्छ, सबै समस्या हल हुँदै जान्छन् ।” उहाँले भण्डारीको विचारलाई जनताको मनमनमा पुर्याउनुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज आनन्द पोखरेलले फाउण्डेशनको कार्यक्रम गर्दा गुटबन्दी भयो भन्नेले प्रधानमन्त्री ओलीको राजीनामा मागी गुटबन्दी गरेको आरोप बताउनुभयो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्यत्रय वसुन्धरा हुमागाईँ, चन्द्र लामा र गोमा भुर्तेल, नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुलगायतले जनताको बहुदलीय जनवाद हिजो, आज र भोलि पनि सान्दर्भिक रहेको विचार राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.