राजनीति

हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिन्छ : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले सगरमाथा हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिने बताउनुभएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले हिमालको शुद्ध पानी विदेश निर्यात गर्न सकिने बताउनुभयो ।

विदेश भ्रमणमा रहेका बेला रसुवाको पानी पिउन पाएको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो, “म विदेश गएका बेला रसुवाको पानी खान पाएको थिएँ, कसरी त्यहाँ पुग्यो थाहा भएन तर खुसी लाग्यो । अब हामीले हिमालको शुद्ध पानी कसरी तेस्रो मुलुकमा निर्यात गर्न सक्छौँ, त्यसतर्फ सोच्नुपर्ने बेला आएको छ ।”

त्यस्तै मन्त्री यादवले जनताका काम छिटोछरितो एवं सहजरूपमा सम्पन्न गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “म भोलिको काम आज, आजको काम अहिले गर्ने किसिमको व्यक्ति हुँ र मन्त्रालयका कर्मचारी साथीहरूसँग पनि सोहीअनुरुप काम गर्न अपेक्षा राखेको छु । नागरिकको काम कुनै पनि बहानामा कर्मचारीको टेबलमा रोकिनुहुँदैन । जनताका काम छिटोछरितो गरौँ ।”

मन्त्री यादवले सय दिनमा भएका कामको प्रगति विवरण देखाउन सबै कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । “कर्मचारी सबैको कामको लेखाजोखा हुन्छ, मेरो कामको पनि मूल्याङ्कन हुने छ”, उहाँले भन्नुभयो, “हामीले सय दिनमा के–कति राम्रा काम गर्‍यौँ आआफ्ना सबैको विवरण तयार राख्नुहोला ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.