टोकियो- जापानका चर्चित माङ्गा कलाकार तादाओ सुगेले दोस्रो विश्वयुद्धका बाल्यकालीन स्मृतिले आफ्नो जीवन र सिर्जनामाथि गहिरो प्रभाव पारेको बताउनुभएको छ।
८५ वर्षीय सुगेले युद्धका बेला देखेका दृश्य र युद्धपछिको अभावग्रस्त जीवनले आफूलाई यथार्थपरक कथा सिर्जना गर्न प्रेरित गरेको उल्लेख गर्नुभएको हो।
द जापान टाइम्ससँगको अन्तर्वार्तामा सुगेले दोस्रो विश्वयुद्ध समाप्त हुँदा आफू चार वर्षको मात्र रहेको स्मरण गर्दै ती दिनका केही दृश्य अझै पनि मानसपटलमा ताजै रहेको बताउनुभयो।
“दिनको समय थियो। म हवाई आक्रमणबाट बच्न बनाइएको भूमिगत आश्रयस्थलबाट बाहिर निस्किएँ। माथि हेर्दा एउटा ‘जिरो’ लडाकु विमान आगो बल्दै उडिरहेको देखेँ। त्यो दृश्य मेरो जीवनभरि मनमा बसिरह्यो,” उहाँले भन्नुभयो।
उहाँका अनुसार ती स्मृतिले बाल्यकाल मात्र होइन, पछिको सम्पूर्ण सिर्जनात्मक यात्रालाई पनि प्रभावित गर्यो।
युद्धपछिको गरिबीले बनायो यथार्थवादी कलाकार
पूर्वी टोकियोको गरिब बस्ती तातेइशीमा एकल आमाको संरक्षणमा हुर्किनुभएका सुगेले युद्धले ध्वस्त बनाएको जापानको कठिन सामाजिक अवस्थालाई नजिकबाट अनुभव गर्नुभएको थियो।
बाल्यकालका सम्झनामा हवाई आक्रमणको साइरन, छिमेकीहरू भूमिगत आश्रयस्थलतर्फ भागिरहेका दृश्य र युद्धपछिको खाद्यान्न अभाव अझै ताजै रहेको उहाँ बताउनुहुन्छ।
“त्यतिबेला पर्याप्त खाना नै थिएन,” उहाँले सम्झिनुभयो। उहाँले देख्नुभएको गरिबी, अभाव र सामाजिक संघर्ष नै पछि उहाँका माङ्गाको प्रमुख विषय बने।
विशेष गरी सन् १९६० र ७० को दशकमा प्रकाशित स्लम वुल्फ जस्ता कृतिमा उहाँले समाजको मूलधारबाट बाहिर रहेका व्यक्ति, अपराधी, श्रमिक तथा सीमान्तकृत समुदायको जीवनलाई यथार्थ रूपमा चित्रण गर्नुभएको छ। यस कृतिको अंग्रेजी संस्करण सन् २०१८ मा प्रकाशित भएको थियो।
युद्धका सम्झनाले बनायो सर्जक
सुगेले आफ्नो सिर्जनामा व्यक्तिगत जीवनका अनुभवलाई निरन्तर समेट्नुभएको छ। रक्त बैंकमा काम गर्दाको अनुभवले दैनिक जीविकाका लागि रगतको प्लाज्मा बेच्न बाध्य मानिसहरूको पीडालाई नजिकबाट बुझ्ने अवसर दिएको उहाँ बताउनुहुन्छ। यही अनुभवले समाजका उपेक्षित वर्गप्रति उहाँको रुचि अझ गहिरो बनाएको थियो।
पछिल्लो आत्मकथात्मक माङ्गा बोट लाइफमा पनि उहाँले आफ्नै जीवन, एकान्त र जीवनको अर्थ खोज्ने यात्रालाई चित्रण गर्नुभएको छ।
सन् १९९६ देखि २००१ सम्म धारावाहिक रूपमा प्रकाशित यो माङ्गाको पहिलो अंग्रेजी संस्करण सन् २०२२ मा प्रकाशित भएको थियो भने दोस्रो भाग गत महिना सार्वजनिक गरिएको छ।
यस कथामा सुगेकै प्रतिबिम्बका रूपमा प्रस्तुत पात्र ‘त्सुदा’ सानो डुङ्गामा बस्दै माछा मार्ने, लेख्ने र पारिवारिक दैनिकीबाट केही समय टाढा रहने प्रयास गर्छन्। युद्ध समाप्त भएको धेरै वर्षपछि आधारित भए पनि यस कृतिमा एक्लोपन, स्मृति र सुरक्षित आश्रयको खोजजस्ता विषयले महत्वपूर्ण स्थान पाएका छन्।
‘गेकिगा’ आन्दोलनका अग्रणी स्रष्टा
तादाओ सुगे जापानी माङ्गाको यथार्थवादी धार ‘गेकिगा’ आन्दोलनका प्रमुख हस्तीमध्ये एक मानिनुहुन्छ। सन् १९५० को दशकको अन्त्यतिर सुरु भएको यो आन्दोलनले मनोरञ्जनमुखी परम्परागत माङ्गाभन्दा फरक शैली अपनाउँदै समाजका कठोर यथार्थलाई चित्रण गर्न जोड दिएको थियो।

उहाँका दाजु योशिहारु सुगे, योशिहिरो तात्सुमी र मासाहिको मात्सुमोतोसँगै तादाओ सुगे पनि यस आन्दोलनका महत्वपूर्ण स्रष्टाका रूपमा स्थापित हुनुभयो।
“हाम्रो उद्देश्य वास्तविकतालाई जस्ताको तस्तै प्रस्तुत गर्नु थियो। त्यस समयको वास्तविक अवस्था देखाउनु नै मुख्य लक्ष्य थियो,” उहाँले भन्नुभयो।
‘म पाठ सिकाउन होइन, यथार्थ देखाउन लेख्छु’
यथार्थपरक सिर्जनाका लागि परिचित भए पनि सुगेले काल्पनिक पात्रप्रति पनि आफ्नो आकर्षण रहेको स्वीकार गर्नुभएको छ।
“मलाई राक्षसहरू निकै मन पर्छ,” उहाँले हाँस्दै भन्नुभयो। उहाँले आफ्नो अगाडि रहेको ‘गोड्जिला’को तस्बिर देखाउँदै त्यस पात्रलाई परमाणु युगको त्रास र आणविक हतियारविरोधी प्रतीकका रूपमा पनि व्याख्या गरिएको उल्लेख गर्नुभयो।
दोस्रो विश्वयुद्ध प्रत्यक्ष अनुभव गरेको पुस्ताका थोरै जीवित व्यक्तिमध्ये एक मानिने सुगेले आफ्नो सिर्जनामार्फत पाठकलाई कुनै शिक्षा दिन खोजेको भने अस्वीकार गर्नुभयो। उहाँले भन्नुभयो “म केवल चीजहरूलाई जस्तो छन्, त्यस्तै चित्रण गर्छु। पाठकले त्यसलाई कसरी बुझ्नुहुन्छ भन्ने कुरा मेरो मुख्य चासो होइन ।”
उहाँले थप्नुभयो, “समाजमा जे भए पनि म त्यसलाई नियालिरहन्छु। बाँकी जीवनभर पनि यथार्थलाई यथार्थकै रूपमा हेर्दै र चित्रण गर्दै जाने मेरो उद्देश्य हो।”
द जापन टायम्सका लागि मार्टा फानास्काले लेख्नुभएको फिचरको नेपाली अनुवाद




प्रतिक्रिया राख्नुहोस्