बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले बिहीबार एमाले, नेकपा र राप्रपाका तर्फबाट गरी अन्य ६ मन्त्रीलाई नियुक्त गर्नुभएको छ । बिहीबार नवनियुक्त मन्त्रीहरुलाई पनि प्रदेश प्रमुखको कार्यालय हेटौँडाको परिसरमा प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।
एमालेबाट भरत केसीले भौतिक पूर्वाधार विकासमन्त्री र ज्ञानबहादुर तामाङले बिना विभागीयमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । यस्तै नेकपाका सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालय, राप्रपाका राजु विष्टले खानेपानी, ऊर्जा तथा सिँचाइ, गिरबहादुर तामाङले स्वास्थ्य तथा सामाजिक विकास र राजेन्द्र प्रजापतिले उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
नेपाली कांग्रेसबाट प्रदेश सरकारको नेतृत्व गर्नुभएको इन्द्रबहादुर बानियाँ अल्पमतमा पर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले प्रदेशसभाका सदस्यलाई बहुमत सङ्ख्या पुर्याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहीबारसम्मका लागि समय दिनुभएको थियो ।
सोही अनुसार नेकपा (एमाले) का तर्फबाट प्रदेशसभा सदस्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
पछिल्लो समय बागमतीमा आठ मन्त्रालय कायम गरिएको छ । यस अनुसार सरकारलाई पूर्णता दिन अझै बाँकी छ । एमालेका तामाङ विना विभागीयमन्त्रीका रुपमा शपथ खुवाइएका तामाङलाई पनि केही दिनमा मन्त्रालयको टुङ्गो लगाइने मुख्यमन्त्री थापाले बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्