विश्व समाचार

इरानसँगको द्वन्द्वका क्रममा मध्यपूर्वमा तैनाथ अमेरिकी युद्धपोत नौ महिनापछि फर्कियो

इरानसँगको द्वन्द्वका क्रममा मध्यपूर्वमा नौ महिनाभन्दा बढी तैनाथ रहेको अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कन स्वदेश फर्कने यात्रामा निस्किएको छ । लामो समय समुद्रमा रहँदा चालक दलमा थकान र मानसिक स्वास्थ्यसम्बन्धी चिन्ता बढेको रिपोर्टबीच युद्धपोत फिर्ता भएको हो ।

सान डिएगोमा आधारित लिङ्कनलाई जापानमा तैनाथ युएसएस जर्ज वासिङ्टनले प्रतिस्थापन गरेको छ । यससँगै करिब पाँच हजार सदस्यीय चालक दलको असाधारण लामो तैनाती अन्त्य भएको छ । लिङ्कनले २१ नोभेम्बर २०२५ मा सान डिएगोबाट यात्रा सुरु गरेको थियो । फेब्रुअरीमा इरानसँग शत्रुता बढेपछि त्यसलाई मध्यपूर्वतर्फ मोडिएको थियो ।

लामो तैनातीका क्रममा चालक दलको थकान, मानसिक स्वास्थ्य र खानाको अभावबारे परिवारले चिन्ता व्यक्त गरेका थिए । जहाज करिब २०० दिन बन्दरगाह नपुगी समुद्रमा रहेको बताइएपछि अमेरिकी सांसदहरूले समेत चालक दलको अवस्थाबारे प्रश्न उठाएका थिए ।

तर अमेरिकी रक्षा अधिकारीहरूले जहाजको अवस्था अत्यधिक बिग्रिएको विवरण अस्वीकार गरेका छन् । अमेरिकी युद्धमन्त्री पीट हेग्सेथले त्यस्ता रिपोर्टलाई ‘पूर्ण रूपमा गलत प्रस्तुत’ गरिएको बताउनुभएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तैनाती अत्यधिक लामो भएको दाबी अस्वीकार गर्दै अर्को युद्धपोतले लिङ्कनलाई प्रतिस्थापन गरिसकेको बताउनुभएको थियो ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरले अगस्ट १६ मा युद्धपोतको निरीक्षण गर्दै चालक दलको लचिलोपनको प्रशंसा गर्नुभएको थियो ।

उहाँले लामो समय समुद्रमा तैनाथ रहनु चुनौतीपूर्ण हुने स्वीकार गर्दै लिङ्कनमा नौसेनाका ११ सक्रिय विमानवाहकमध्ये तुलनात्मक रूपमा कम मानसिक स्वास्थ्यसम्बन्धी घटना अभिलेख भएको बताउनुभएको थियो ।

नौसेनाका प्रतिनिधिले आत्महत्याको प्रयास वा आत्महत्यासम्बन्धी विचारमा कुनै अभिलेखित वृद्धि नभएको बताएका छन् । यद्यपि, अगस्ट ३ मा जहाजबाट खसेर उद्धार गरिएका एक नाविकसम्बन्धी घटनाको अनुसन्धान भइरहेको छ ।

युद्धपोतको फिर्तीले लामो समयदेखि परिवारको प्रतीक्षामा रहेका आफन्तलाई राहत दिएको छ । युएसएस अब्राहम लिङ्कनलाई सान डिएगोस्थित गृहबन्दरगाह पुग्न करिब तीन साता लाग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.