चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला
कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता भएका युवकको आइतबार शव फेला परेको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका-३ ठेकीलाका रमेश पन्तको २२ वर्षीया छोरा खगराज पन्त घुम्नका लागि झरना आएका बेला शनिबार खसेर बेपत्ता भएका थिए ।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा झरनासहित आसपासका क्षेत्रमा खोजी सुरु गरेको थियो । खोजीका क्रममा आज झरनाबाट करिब ५०० मिटर तल पन्तको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पन्त हाल धनगढीस्थित डेनित इन्सच्युटमा कोरियान भाषा अध्ययनरत थिए । मृतकको शव परीक्षणको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसैबीच, पछिल्लो समय सामाजिक सन्जालमा भाइरल चिप्ले झरनामा पर्यटकको चहलपहल बढ्दै गएको छ । झरना क्षेत्रमा चिप्लो सतह र जोखिमयुक्त भौगोलिक अवस्था रहेकाले प्रहरीले पर्यटकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्