अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ‘ए’ ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको होे । यसअघिका दुई खेलमा नेपाल ‘ए’ पराजित भएको थियो ।
नेपाल ‘ए’ ले जितको लागि दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स एकेडेमी १८.३ ओभरमा सबै विकेट गुमाउदै ११५ रनमा समेटियो । एकेडेमीका लागि नितेश सामुएलले सर्वाधिक ३७ रन बनाए भने टिम वार्डले २३ रन जोडे ।
नेपालका बलरमध्ये नारायण जोशीले तीन विकेट लिए भने शाहब आलम र पवन सर्राफले समान २–२ विकेट लिए । विपिन खत्रीले एक विकेट झारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ३९ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । त्यस्तै मायन यादवले ३१, कप्तान अनिल साहले २८ तथा लोकेश बमले २० रन र तृत राज दासले १० रन जोडे ।




प्रतिक्रिया राख्नुहोस्