विश्व समाचार

हर्मुज जलडमरूमध्यमा छ महिनामा ६८ समुद्री घटना, २० जनाको मृत्यु

इरान, अमेरिका र इजरायलबीच पछिल्लो छ महिनादेखि जारी द्वन्द्वका कारण विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग हर्मुज जलडमरूमध्यमा सुरक्षा जोखिम उल्लेखनीय रूपमा बढेको छ।

तेल तथा प्राकृतिक ग्यास ढुवानीको प्रमुख मार्ग बनेको यस क्षेत्रमा भएका आक्रमण तथा सुरक्षा घटनामा हालसम्म २० जनाको मृत्यु, ३५ जना घाइते तथा एक जना बेपत्ता भएका छन्।

संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)का अनुसार पर्सियन खाडी तथा आसपासका समुद्री क्षेत्रमा छ महिनाको अवधिमा ६८ वटा सुरक्षा घटना पुष्टि भएका छन्। यो औसतमा प्रत्येक २.६ दिनमा एउटा घटना भएको बराबर हो।

आईएमओका अनुसार ती घटनामध्ये करिब आधा तेलवाहक ट्याङ्कर, २० प्रतिशत कन्टेनर जहाज र १५ प्रतिशत बल्क क्यारियरसँग सम्बन्धित रहेका छन्।

बेलायतको ‘युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)’ले तीमध्ये ४७ घटनालाई प्रत्यक्ष आक्रमणका रूपमा वर्गीकरण गरेको छ।

सबैभन्दा बढी लाइबेरियाको झण्डा बोकेका १३ वटा जहाज प्रभावित भएका छन्। त्यसपछि पनामा र मार्शल टापुका १०–१० वटा जहाज घटनामा परेका छन् भने इरानको झण्डा बोकेका चार वटा जहाज पनि विभिन्न घटनामा संलग्न रहेको उल्लेख गरिएको छ।

आईएमओका अनुसार फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएदेखि जुनको मध्यसम्म शान्ति वार्ताको प्रारम्भिक रूपरेखा तयार नहुँदासम्म सुरक्षा अवस्था अत्यन्त तनावपूर्ण थियो। त्यस अवधिमा औसतमा हरेक २.३ दिनमा एउटा घटना भएको थियो।

यही अवधिमा १६ जनाको मृत्यु र १९ जना घाइते भएका थिए। घटनाहरू हर्मुज जलडमरूमध्यको पूर्व र पश्चिम भागसँगै इराक, इरान, कतार, साउदी अरेबिया, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई)को तटीय क्षेत्रमा भएका थिए।

शान्ति वार्ता अघि बढिरहेको अवधिमा, करिब जुलाई ७ सम्म, घटनाको दर घटेर औसतमा हरेक ४.६ दिनमा एउटामा सीमित भएको थियो। यस अवधिमा कुनै पनि नाविक वा बन्दरगाहका कामदारको मृत्यु, घाइते वा बेपत्ता भएको विवरण सार्वजनिक भएको थिएन।

त्यसबेलाका पाँचमध्ये चार घटना ओमानको तट नजिक, हर्मुजको साँघुरो भागमा भएका थिए, जहाँ इरानले अनुमति नदिएको वैकल्पिक समुद्री मार्ग प्रयोग गरिएको बताइएको छ।

इरानले युद्धपछि पनि हर्मुज जलडमरूमध्यमाथिको नियन्त्रण कायम राख्ने र आवतजावत गर्ने जहाजबाट शुल्क असुल्ने योजना सार्वजनिक गर्दै आएको छ। त्यसैले इरानी अधिकारीहरूले जहाजहरूलाई आफूले तोकेको मार्गबाहेक अन्य वैकल्पिक मार्ग प्रयोग नगर्न चेतावनी दिएका थिए।

तर शान्ति वार्ता विफल भएपछि समुद्री घटनाको दर पुनः बढेको छ। पछिल्लो अवधिमा औसतमा हरेक २.८ दिनमा एउटा घटना भइरहेको आईएमओले जनाएको छ। वार्ता भङ्ग भएपछि भएका घटनामा चार जनाको मृत्यु, १६ जना घाइते तथा एक जना बेपत्ता भएको विवरण सार्वजनिक गरिएको छ।

विश्वको करिब एक-पाँचौं भाग कच्चा तेल तथा ठूलो परिमाणमा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने हर्मुज जलडमरूमध्यमा बढ्दो असुरक्षाले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति, समुद्री व्यापार तथा विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.