रविको निवेदनमा कैफियत मिसिल प्राप्त भएपछि उच्च अदालतमा थप सुनुवाइ हुने
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी मुद्दामा थुनामा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कैफियत प्रतिवेदन र सक्कल मिसिल मगाउने आदेश दिएको छ।
रुपन्देही जिल्ला कारागारबाट हाल नख्खु कारागारमा स्थानान्तरण गरिनुभएका लामिछानेको मुद्दामा एक साताभित्र मिसिल प्राप्त भएपछि थप सुनुवाइ हुने अदालतले जनाएको छ।
बुधबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको एकल इजलासले कैफियत प्रतिवेदन र सक्कल मिसिल मगाउन आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहनुभएका लामिछानेले सहकारीमा मुद्दा दायर गर्दा आफ्नो भागमा पारिएको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराउनुभएको थियो ।
सोही निवेदनको भएको बहसपछि न्यायाधीश विष्टको एकल इजलासले जिल्ला अदालत रुपन्देहीको सक्कल मिसिल र कैफियत प्रतिवेदन मगाउने आदेश गरेको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले बताउनुभयो ।
यसअघि रविले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा दिनुभएको निवेदन न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते अस्वीकार गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ । रविले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर हुने २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेश गर्नुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्