जन सरोकार

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन भन्ने दुबिधामा स्थानीय छन् । आफ्नाको ‘सास वा लास’ पर्खिएको एकसाता बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएपछि गोरखा, पालुङटार नगरपालिका-५ नौखोरवासीले भटाभट कुशको शव बनाएर काजकिरिया थालेका छन् ।

यही भदौ १० गते भोटेकोशीमा आएको बाढीले पालुङटार-५ नौखोरबाट गोसाइँकुण्ड तीर्थ गएको यात्रुवाहक बस बेपत्ता बनाएको थियो । बसमा सवार ३६ मध्ये छ जना सकुशल भेटिएका छन् ।

चार जनाको शव चितवन र नवलपुरमा भेटिएको छ भने २६ जनाको अवस्था अज्ञात रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्पर्कविहीन भएका ३० जनामध्ये कमला देवकोटा, सुजता कौडाल, सुमी कुमाल र केदार पण्डितको शव फेला परेको हो । शव फेला परेकाहरूको परम्परागत रूपमा दाह संस्कार पनि भइसकेको उहाँले जानकारी दिनुभयो ।

“अहिलेसम्म शव नभेटिएकाहरूको पनि कुशको शव बनाएर दाहसंस्कार सुरु गरेका छौँ”, स्थानीय लक्ष्मण गिरीले भन्नुभयो, “हराएको एक हप्ता भयो, अब त शव भेटिने आशा पनि छैन । त्यसैले आफ्नो परम्पराअनुसार कुशको शव बनाएर दाह संस्कार गर्नुपरेको हो ।”

पालुङटार नगरपालिकाको मस्र्याङ्दी र चेपे नदीको दोभानमा बुधबार सात र बिहीबार चार जनाको कुशको शव बनाएर अन्येष्टि गरिएको उहाँले जानकारी दिनुभयो ।

बुधबार बाढीमा बेपत्ता भएका बस चालक सागर देवकोटा, उहाँकी आमा राममाया देवकोटा, पद्मकुमारी देवकोटा, नानुमाया थापा, सरिता अधिकारी पण्डित, दुर्गा देवकोटा र सुस्मा न्यौपानेको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।

बिहीबार भने मुक्तिनाथ अम्गाईं र उहाँकी श्रीमती मिठुमाया अम्गाईं तथा मधुमाया पण्डित र उहाँकी देउरानी कमला पण्डितको कुशको शवको दाहसंस्कार गरिएको स्थानीय लक्ष्मण गिरीले बताउनुभयो ।

बेपत्ता भएका अन्यको पनि कुशको शव बनाएर अन्येष्टि गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । “एकैदिन एउटै परिवारका सबै जनाको अन्येष्टि गर्न नमिल्ने रहेछ, त्यसैले दिन बिराएर गर्न लागेका हौँ । यहाँ एउटा सिङ्गो परिवार बेपत्ता भएको अवस्था छ”, उहाँले दुःख पोख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.