अर्थबिशेष

अमेरिकी एआई कम्पनी एनभिडियाका प्रमुख ह्वाङद्वारा डेढ अर्ब सहयोग

अमेरिकी एआई कम्पनी एनभिडियाका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब डेढ अर्ब रुपैयाँ बराबर (१० मिलियन अमेरिकी डलर) सहयोग गर्नुभएको छ।

रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आएको यो सहयोग हालसम्मकै सबैभन्दा ठूलो गैरराजनीतिक तथा सरकारी अन्तर्राष्ट्रिय सहयोगमध्ये एक हो।

यसअघि अमेरिकी सरकारले पनि रसुवा–भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा मानवीय सहायता प्रयोजनका लागि पाँच लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको थियो। त्यसको तुलनामा एनभिडियाका प्रमुख ह्वाङको १० मिलियन अमेरिकी डलर सहयोग २० गुणा बढी रहेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोगप्रति नेपाल सरकारका तर्फबाट ह्वाङप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रसुवा–भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा महत्वपूर्ण हुने बताउनुभएको छ।

“नेपाल सरकारका तर्फबाट एनभिडियाका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रसुवा–भोटेकोशी बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्नुभएकामा हार्दिक आभार व्यक्त गर्दछु,” अर्थमन्त्री वाग्लेले भन्नुभएको छ।

उहाँले ह्वाङको योगदानलाई परोपकारी दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यसबाट अन्य व्यक्ति तथा संस्थालाई पनि विपद् प्रभावितको सहयोगमा योगदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ।

साथै, उक्त सहयोगले विपद्का कारण प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.