खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन सरोकार भएका सबैमा आग्रह गरेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड बाढीपहिरोका कारण अवरुद्ध भएपछि त्रिभुवन राजपथ र कान्ति राजमार्गबाट यातायात सञ्चालन भइरहेका अवस्थामा प्रशासनले ती राजमार्ग तथा वैकल्पिक मार्गअन्तर्गतका सडक छेउछाउ तथा बजारमा खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन आग्रह गरेको हो ।
प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जारी गर्नुुभएको सूचनामा राजमार्ग आसपासका होटेल, रेस्टुरेन्ट, पसल तथा केही व्यवसायीबाट नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारको बेवास्ता गर्दै यात्रुहरूसँग फरक परिस्थितिको फाइदा उठाउन चर्को मूल्य असुली गर्ने, मूल्य सूची नराख्ने, मापदण्डविपरीत तथा अखाद्य र अस्वस्थ खानेकुरा बिक्रीवितरण गर्नेलगायत गुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।
प्रशासनले सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने र कान्ति राजमार्ग हुँदै फर्किने, साना यात्रुवाहक सवारीसाधन भीमफेदी–कुलेखानीको बाटो काठमाडौँ आवतजावत गर्ने व्यवस्था मिलाएको छ ।
व्यवसायी/विक्रेतालाई त्यस्तो नगर्नुहुन तथा त्यस्तो गतिविधि गरेको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने गरिने उल्लेख गर्दै प्रशासकीय अधिकृत सुवेदीले यात्रु तथा उपभोक्ताले पनि विल/रसिद लिएर मात्र भुक्तानी गर्ने, मूल्य सूची जाँच गर्ने र अनियमितता/कैफियत देखिएमा तत्काल नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन पनि सबैमा अनुरोध गर्नुभयो ।





प्रतिक्रिया राख्नुहोस्