जन सरोकार

‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्नका लागि प्रदेश सरकारबाट गर्न सकिने आवश्यक पहल तथा सहयोगमा कमी हुन नदिने बताउनुभएको छ ।

भट्टार क्षेत्रमा गएको पहिराका कारण विस्थापित परिवारको राहत तथा पुनस्र्थापनाका साथै पहिरो जाने क्रम नरोकिएकाले जोखिम न्यूनीकरण र आवश्यक सहयोगको माग गर्दै अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीसहितको टोलीले मुख्यमन्त्री भट्टलाई शनिबार ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझ्नुहुँदै मुख्यमन्त्री भट्टले विपद्का कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनस्र्थापनाका लागि प्रदेश सरकारबाट आवश्यक पहल गरिने बताउनुभयो ।

उहाँले पहिरोका कारण प्रभावित तथा विस्थापित परिवारको राहत, पुनस्र्थापना र पहिरो रोकथामका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले विपद्का कारण प्रभावित नागरिकको सुरक्षा र राहतलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भट्टार क्षेत्रमा पहिरो जाने क्रम जारी रहँदा चमेलिया नदीसमेत प्रभावित भएको छ । पहिरोका कारण नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रका बस्तीमा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।

गाउँपालिकाका अध्यक्षद्वयको टोलीले पहिरोका कारण विस्थापित परिवारको तत्काल राहत तथा पुनस्र्थापनासँगै पहिरो पूर्ण रूपमा नरोकिएका कारण चमेलिया नदी किनारका बस्तीमा जोखिम कायमै रहेको जानकारी गराएको थियो ।

जोखिम न्यूनीकरण, प्रभावित नागरिकको सुरक्षा तथा आवश्यक पूर्वाधार संरक्षणका लागि प्रदेश सरकारबाट तत्काल आवश्यक सहयोग उपलब्ध गराउन उनीहरूले आग्रह गरेका थिए । पहिरो निरन्तर खसिरहेकाले नदीको बहावमा पुनः अवरोध आउन सक्ने जोखिमसमेत रहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.