भोटेकोशी बाढी : यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य
भोटेकोशी बाढी विपद्को १२औँ दिन पनि खोज, उद्धार र राहत कार्य जारी छ । बाढीबाट ठूलो जनधनको क्षति, ठूलो सङ्ख्यामा नागरिक विस्थापन हुनुका साथै रसुवा, नुवाकोट, धादिङ र नदीको बहाव क्षेत्रअन्तर्गतका अन्य जिल्लाका घर, भवन, सडक, पुल, जलविद्युत् संरचना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति भएको छ ।
नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि आफ्नो उपलब्ध सबै साधन तथा स्रोत परिचालन गरिरहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल पूर्ण रूपमा परिचालित छन् । साथै विपद् व्यवस्थापनसम्बन्धी निकाय, प्रदेश तथा स्थानीय तह र अन्य सम्बन्धित निकाय पनि परिचालित छन् ।
परराष्ट्र मन्त्रालयले खोज, उद्धार तथा राहत कार्यका लागि देशभित्र तथा छिमेकी मुलुक र अन्तरराष्ट्रिय साझेदारहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।
भारत, चीन तथा गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरी खोजी र उद्धार कार्य जारी राखेका छन् । छिमेकी मुलुक, मित्रराष्ट्र तथा अन्तरराष्ट्रिय समुदायबाट प्राप्त उद्धार सहयोगका उपकरण, ड्रोन, लोड क्यारियर तथा अन्य सामग्रीहरू यी कार्यमा प्रयोग भइरहेका मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अनुरोध गरिएका विशिष्टताअनुसार नौ वटा उच्च क्षमताका ड्रोनसहित ११ सदस्यीय विशेष मलेसियाली विपद् सहायता तथा उद्धार टोली शनिबार नेपाल आइपुगेको छ ।
हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएकामा ३०० भन्दाबढी विदेशी नागरिक रहेका मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ । अझै पनि अनुमानित हजार मानिस बेपत्ता रहेका छन् । त्यसमा ३५ देशका अनुमानित ६०० जना विदेशी नागरिक रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ३४१ वटा शव फेला पारिएको छ । प्रभावित क्षेत्रमा सडक, विद्युत् तथा दूरसञ्चार सम्पर्क पुनःस्थापना गर्न तथा प्रभावित जनतासम्म राहत सामग्री समयमा पुर्याउन सम्बन्धित निकायहरूले सक्रिय रूपमा काम गरिरहेका छन् ।
अन्तरराष्ट्रिय समुदाय, साझेदार तथा व्यक्तिबाट प्राप्त थप सामग्री तथा सहयोग प्रभावकारी रूपमा परिचालन भइरहेको मन्त्रालयले आज जारी गरेको विवरणमा उल्लेख छ ।
यसैगरी, नेपाली सेना तथा इन्जिनियरको टोलीले तादी नदीमाथि अस्थायी पुल निर्माण गरी गल्छी-त्रिशूली सडक पुनःस्थापना गर्ने काम गरिरहेका छन् । यसका अतिरिक्त त्रिशूली इन्द्रेणीघाट र देवीघाटमा एक-एक गरी दुई वटा तुइन सञ्चालनमा ल्याइसकेको छ ।
द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएनए)अन्तर्गत गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार करिब सात हजार ५७० घरधुरीका ३२ हजार ९३३ जना प्रभावित भएका छन् । त्यस्तै ४८ सरकारी कार्यालय प्रभावित भएका, ५५ किलोमिटर सडक, ३७ वटा मोटरेबल पुल तथा ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको विवरणमा उल्लेख छ ।
साथै, करिब एक ८०६ हेक्टर कृषि भूमि, १३ वटा जलविद्युत् आयोजना, एउटा सौर्य ऊर्जा प्लान्ट तथा दुई वटा प्रसारण लाइनमा क्षति पुगेको छ । उक्त मूल्याङ्कनले ७८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको जनाएको छ ।
यस विपद्बाट भएको क्षतिको परिमाण तथा विस्तारलाई ध्यानमा राख्दै सम्पूर्ण क्षति तथा नोक्सानी र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक लागत निर्धारण गर्न विपद्पश्चात आवश्यकता मूल्याङ्कन (पिडिएनए) पनि एकैसाथ सञ्चालन भइरहेको छ ।
यसैगरी, आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरेपछि बरामद शवको अस्थायी व्यवस्थापन गर्न सम्बन्धित निकायहरूले सुरु गरेका छन् । पछि पहिचान गरी मृतकका परिवारलाई अन्तिम संस्कारका लागि शव हस्तान्तरण गर्न सहज हुनेछ ।
बेपत्ता व्यक्तिका निकटतम परिवारजनलाई महाराजगञ्ज काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल वा नेपालस्थित नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
विदेशमा रहेका परिवारजनले आफू बसोबास गर्ने देशमा आफ्नो डिएनए नमूना सङ्कलनमार्फत रिपोर्ट तयार गरी पठाउन सक्ने मन्त्रालयको विवरणमा जनाइएको छ ।
भारत, चीन, जापान, सिङ्गापुर तथा गणतन्त्र कोरियाका फरेन्सिक टोलीले नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी डिएनए सङ्कलन, विश्लेषण तथा मृतकका अवशेषको पहिचानसम्बन्धी कार्यलाई तीव्रता दिन परिचालित भएका छन् ।
मन्त्रालयले कूटनीतिक नियोगका प्रतिनिधिहरूका लागि ‘ब्रिफिङ’ तथा स्वदेशी र अन्तरराष्ट्रिय सञ्चारमाध्यमका लागि ‘प्रेस ब्रिफिङ’ आयोजना गरी जारी खोज, उद्धार तथा राहत कार्य तथा विदेशी सहयोगसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ ।
हालसम्म मन्त्रालयले सम्बन्धित देश तथा निकायहरू तथा नेपाल सरकारका सम्बन्धित अधिकारीसँग समन्वय गरी मित्रराष्ट्र तथा अन्तरराष्ट्रिय संस्थाहरूबाट बाढी राहत सामग्री तथा उद्धार टोली बोकेर आएका २६ वटा उडानको अनुमति तथा सहजीकरण गरेको छ ।
बाढीबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन मन्त्रालय तथा चीनस्थित नेपाली नियोगले चिनियाँ अधिकारीसँग समन्वय गरिरहेका छन् ।
शनिबारसम्म तातोपानी नाका हुँदै कुल ४३१ जना नेपाली नागरिक नेपाल फर्किएका छन् । सोही नाकाबाट आज थप १०५ जना नेपाली नागरिक स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले अपेक्षा गरेको छ ।
मन्त्रालयले विदेशी नागरिकको खोज तथा उद्धारमा समन्वय तथा सहयोग गर्न उपशिष्टाचार प्रमुख प्रेमराज गौतमलाई प्रभावित क्षेत्रमा रहेको अपरेसन सेन्टरमा परिचालन गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्