एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ
मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
खरङ्गातर्फ आउँदै गरेको बा प्र ०१–०२५ च ०८७७ नम्बरको सवारी साधन (कार) लाई ग२च ६१५ नम्बरको अर्काे सवारी साधन (पिकअप) गाडीले ‘स्कटिङ’ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
कारको सिटमुनि लुकाएर ल्याएको अवस्थाको १३ पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
स्कटिङ गर्दै आएको पिकअप गाडी भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षका देवनारायण महतो र पिकअप चालक चितवनको भरतपुर महानगरपालिका २४ बस्ने ४८ वर्षका टेकबहादुर दोङ रहेका छन् ।
“विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले १६२ किलो गाँजासहित दुई वटा गाडी र चालकलाई नियन्त्रणमा लिएको हो”, प्रहरी नायब उपरीक्षक काफ्लेले भन्नुभयो । गाँजासहित पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान अघि बढाइएको बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्