एन आर एन न्युज

भोटेकोशी बाढीपीडितका लागि एनआरएनएमा ६ करोड ३४ लाख संकलन

गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले असोज १५ गते बिहिबारसम्म ६ करोड ३४ लाख ४१ हजार १४३ रुपैयाँ संकलन गरेको छ।

एनआरएनएको ‘भोटेकोशी–रसुवा बाढी २०२६’ वित्तीय प्रतिवेदनअनुसार बाढीपीडितका लागि विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा संस्थाबाट कुल ९ करोड ३७ लाख ८१ हजार २२६ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको थियो। प्रतिबद्धतामध्ये हालसम्म ६ करोड ३४ लाख ४१ हजार १४३ रुपैयाँ प्राप्त भएको संघले जनाएको छ।

संघका अनुसार प्राप्त हुने प्रतिबद्धता रकम क्रमशः संकलन भइरहेको छ। संकलित रकमलाई बाढीबाट प्रभावित परिवारको तत्कालीन राहत तथा पुनःस्थापना आवश्यकतामा परिचालन गर्ने तयारी गरिएको छ।

यसअघि नै एनआरएनएले बागलुङको निसीखोला र पर्वतको जलजला गाउँपालिकाका ९८ बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरिसकेको छ। निसीखोलाका ६८ र जलजलाका ३० परिवारलाई त्रिपाल, म्याट, ब्ल्याङ्केट, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहितको राहत प्याकेज उपलब्ध गराइएको थियो।

भोटेकोशी बाढीमा आफन्त गुमाएर काठमाडौंका विभिन्न क्रियाघरमा काजक्रिया सम्पन्न गरी हाल कोठा भाडामा बसिरहेका थप चार प्रभावित परिवारलाई पनि एनआरएनएले ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्नलगायतका सामग्री उपलब्ध गराएको छ। यसअघि पनि यस्तै प्रकृतिको राहत ४४ परिवारलाई उपलब्ध गराइएको संघले जनाएको छ।

एनआरएनएको वित्तीय प्रतिवेदनअनुसार सहयोग रकम प्राप्त भएका देश तथा संस्थामा बेलायतबाट ५३ लाख ४३ हजार २४४ रुपैयाँ २५ पैसा, कतारबाट ४६ लाख ६ हजार ८८३ रुपैयाँ, अस्ट्रेलियाबाट ३१ लाख १ हजार ५८१ रुपैयाँ ७६ पैसा, क्यानडाबाट २७ लाख ३ हजार ४०७ रुपैयाँ ५० पैसा, बहराइनबाट २५ लाख ७९ हजार ३२८ रुपैयाँ, न्युजिल्यान्डबाट २१ लाख ५२ हजार ८९९ रुपैयाँ ७३ पैसा, हङकङबाट १८ लाख ७७ हजार २३२ रुपैयाँ ५० पैसा संकलन भएको छ ।

स्विडेनबाट १८ लाख ३१ हजार ५३५ रुपैयाँ, नर्वेबाट १७ लाख ८९ हजार ८४२ रुपैयाँ ९६ पैसा, इराकबाट १४ लाख ९ हजार ११७ रुपैयाँ २४ पैसा, ओमानबाट १३ लाख १५ हजार रुपैयाँ, फिलिपिन्सबाट १२ लाख रुपैयाँ, दक्षिण कोरियाबाट ११ लाख १० हजार ८१२ रुपैयाँ, स्टिचिङ नेपाल फन्ड नेदरल्यान्ड्सबाट १० लाख ५५ हजार १९३ रुपैयाँ ६० पैसा संकलन भएको छ ।

एनआरएनए सचिवालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार  लग्जम्बर्गबाट १० लाख ४६ हजार ५४८ रुपैयाँ ८६ पैसा, साउदी अरेबियाबाट १० लाख रुपैयाँ डेनमार्कबाट ९ लाख १९ हजार ३०५ रुपैयाँ ८५ पैसा, सेसेल्सबाट ८७ हजार ५२४ रुपैयाँ, टर्कीबाट ७ लाख ५० हजार ३३७ रुपैयाँ, कंगोबाट ६ लाख ५८ हजार ६६३ रुपैयाँ, युएईबाट ६ लाख ५८ हजार ६६३ रुपैयाँ, म्यानमारबाट ६ लाख १ हजार रुपैयाँ, इजरायलबाट ५ लाख ४ हजार ३८५ रुपैयाँ, आयरल्यान्डबाट ५ लाख रुपैयाँ, रुसबाट ५ लाख रुपैयाँ तथा थाइल्यान्डबाट ५ लाख रुपैयाँ पैसा संकलन भएको छ ।

भोटेकोशी–त्रिशूली बाढीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। सरकारी प्रारम्भिक आकलनअनुसार बाढीमा करिब ६ हजार निजी घर पूर्णरूपमा बगेका वा ध्वस्त भएका छन्। निजी आवासमा मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको र ती परिवारका लागि तत्काल अस्थायी आवास निर्माण गर्न करिब ९० करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको थियो। क्षतिको विस्तृत मूल्यांकन भने अझै जारी रहेको सरकारी विवरणमा उल्लेख छ।

भदौ १० को बाढीले घरबार गुमाएका हजारौँ परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन आवास, जीविकोपार्जन र पुनःस्थापनाको आवश्यकता देखिएको अवस्थामा एनआरएनएबाट संकलित रकमको परिचालन पनि महत्त्वपूर्ण हुने देखिन्छ। बाढीले घर मात्र नभई सडक, पुल, विद्युत्, सञ्चार तथा कृषि क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको सरकारी तथा अन्य प्रारम्भिक मूल्यांकनले देखाएका छन्।

विपद्मा एनआरएनएको निरन्तर सहयोग

नेपालमा ठूला विपद् आउँदा एनआरएनएले विदेशमा रहेका नेपालीबाट सहयोग जुटाएर प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

२०७२ सालको गोरखा भूकम्पपछि एनआरएनएले १३ जिल्लामा १७ हजार अस्थायी आवासका लागि त्रिपाल, १५ हजार ब्ल्याङ्केट, चामल, चिउरा तथा खाद्यान्न वितरण गर्नुका साथै १७ हजार परिवारसम्म राहत पुर्‍याएको थियो।

संघका अनुसार भूकम्पपछिको तत्कालीन राहत अभियानमा ३७ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम परिचालन गरिएको थियो। त्यस्तै, जाजरकोट भूकम्पपछि पनि खाद्यान्न, त्रिपाल, न्यानो कपडालगायतका सामग्री वितरण गरिएको थियो।

कोभिड–१९ महामारीका क्रममा पनि एनआरएनएले नेपालका सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्न तथा आपत्कालीन स्वास्थ्य पूर्वाधार सुदृढ गर्न सहयोग गरेको थियो।

संघको पछिल्लो विवरणअनुसार विगत दुई दशकमा विपद् तथा मानवीय सहायताका विभिन्न अभियानमा एनआरएनएले राहत, स्वास्थ्य सेवा, पुनःस्थापना र पुनर्निर्माणमा निरन्तर सहयोग गर्दै आएको छ।

भोटेकोशी बाढीपछिको राहत अभियानलाई पनि संघले सोही निरन्तरताका रूपमा अघि बढाएको जनाएको छ। बाढीका कारण घर, जीविकोपार्जन र भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि तत्कालीन राहतसँगै विस्थापित परिवारको आवास तथा पुनःस्थापनाको आवश्यकता पनि बढेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.