विदेशमा हुर्किएका नेपाली युवालाई मातृभूमिसँग जोड्न एनआरएनए सम्मेलन
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशमा जन्मिएका, हुर्किएका र शिक्षा हासिल गरेका नेपाली मूलका युवा पुस्तालाई नेपालको विकाससँग जोड्ने उद्देश्यले आगामी जनवरी २ देखि ७ (पुस १८ देखि २३, २०८३) सम्म काठमाडौँ र धुलिखेलमा दोस्रो पुस्ता विश्व सम्मेलन आयोजना गर्ने भएको छ।
‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन २०२७’ नाम दिइएको सम्मेलनले विदेशमा रहेका दोस्रो पुस्ताका नेपाली युवाको ज्ञान, सीप, पुँजी, प्रविधि, अनुसन्धान र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक तथा संस्थागत विकासमा उपयोग गर्ने लक्ष्य राखेको छ।
आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्माले दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालको विकाससँग जोड्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनुभयो।
‘जोडौँ, खोजौँ र आकार दिऔँ’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनले शिक्षा, व्यापार, प्रविधि र अनुसन्धानलगायतका क्षेत्रमा स्थापित युवा पुस्ताको क्षमता परिचालनमा जोड दिने उहाँले बताउनुभयो।
अध्यक्ष शर्माका अनुसार दोस्रो पुस्तामा नेपाली भाषा, संस्कृति, पहिचान र मातृभूमिप्रतिको अपनत्व प्रवर्द्धन गर्दै एनआरएनए अभियानमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सम्मेलनको प्राथमिकता हुनेछ।
सम्मेलन संयोजक एवं एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्की उपमहासचिव अनुजा प्रधानले विश्वभर रहेका दोस्रो पुस्ताका नेपाली युवाबीच सञ्जाल विस्तार, अनुभव आदानप्रदान तथा मातृभूमिसँग भावनात्मक र व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन सम्मेलनले साझा मञ्च प्रदान गर्ने बताउनुभयो।
जनवरी ३ मा हुने मुख्य सम्मेलनमा विज्ञ, युवा नेतृत्व तथा विभिन्न क्षेत्रमा स्थापित व्यावसायिक व्यक्तित्वको सहभागितामा पाँच विषयगत सत्र सञ्चालन गरिनेछ। संस्कृति र पहिचानअन्तर्गत नेपाली भाषा, सम्पदा र संस्कृतिको पुस्तान्तरण, सीप तथा ज्ञान हस्तान्तरणअन्तर्गत प्रवासी युवाको अनुभवलाई शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन तथा परोपकारी क्षेत्रमा जोड्ने विषयमा छलफल हुनेछ।
त्यस्तै, नीतिगत तथा कानुनी संरचनासम्बन्धी सत्रमा गैरआवासीय नेपाली नागरिकता, व्यावसायिक अनुमति, नेपालमा व्यवसाय सञ्चालनका चुनौती र संस्थागत सहभागिताका विषयमा विमर्श हुनेछ।
उद्यमशीलता तथा लगानी सत्रमा सीमापार व्यावसायिक सहकार्य र लगानीका अवसर खोजिनेछ भने युवा नेतृत्व तथा संस्थागत सुधार सत्रमा दोस्रो पुस्ताको विश्वव्यापी सञ्जाल विस्तार र एनआरएनएभित्र आवश्यक नीतिगत तथा विधानगत सुधारबारे छलफल गरिनेछ।
मुख्य सम्मेलनसँगै नेपाल पर्यटन बोर्डसँगको सम्भावित सहकार्यमा छ दिनको ‘नेपाल चिनौँ’ कार्यक्रम पनि सञ्चालन गर्ने तयारी छ। कार्यक्रमअन्तर्गत जनवरी २ मा काठमाडौँमा स्वागत तथा उद्घाटन समारोह र अन्तर्राष्ट्रिय सञ्जाल विस्तार कार्यक्रम हुनेछ। जनवरी ३ मा मुख्य सम्मेलन तथा भावी सहकार्यको कार्ययोजना निर्माण गरिनेछ।
जनवरी ४ मा काठमाडौँ, ललितपुर र भक्तपुरका ऐतिहासिक सम्पदा, दरबार क्षेत्र तथा परम्परागत हस्तकला केन्द्रहरूको अवलोकन गराइनेछ। जनवरी ५ मा लोकतन्त्र, सुशासन र सार्वजनिक नीतिसँग सम्बन्धित संस्थाहरूको भ्रमण तथा अन्तरक्रिया हुनेछ।
जनवरी ६ र ७ मा धुलिखेल तथा काठमाडौँमा प्रकृति, योग, ध्यान र भावी कार्यदिशा निर्धारणमा केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ। धुलिखेलमा दुई दिने प्रकृति र हिमाली अनुभव कार्यक्रमअन्तर्गत दोस्रो पुस्ताका नेपाली युवाको भावी भूमिका र सहकार्यका लागि कार्ययोजना निर्माण कार्यशाला आयोजना हुनेछ। जनवरी ७ को साँझ काठमाडौँमा सांगीतिक कार्यक्रम तथा रात्रिभोजसँगै सम्मेलन समापन गरिनेछ।
जस्मिन सैयदले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा समिरा केसी, करुणा रावत, इभान शर्मा, कृति महतो, विश्वजित बी. थापा, जागृत पौडेल, रोबर्ट विश्वकर्मा र गौरवराज केसीले सम्मेलनका विभिन्न सत्रबारे जानकारी दिनुभएको थियो।
दोस्रो पुस्तालाई नेपालको राष्ट्रिय समृद्धिको महत्त्वपूर्ण स्रोतका रूपमा लिएको एनआरएनएले सम्मेलन सफल बनाउन नेपाल सरकार, सम्बन्धित निकाय, राष्ट्रिय समन्वय परिषद्, सञ्चारकर्मी तथा अन्य सरोकारवालालाई सक्रिय सहयोग र सहभागिताका लागि आह्वान गरेको छ।




प्रतिक्रिया राख्नुहोस्