प्रबास

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको राहतका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ । समितिका उपाध्यक्ष तारा भट्टराईको नेतृत्वमा सङ्कलित उक्त रकम बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीलाई हस्तान्तरण गरिएको हो ।

सङ्कलित उक्त रकम राजदूतावासमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले जानकारी दिनुभयो ।

कार्यवाहक राजदूत दुवाडीले विपद्का बेला प्रवासमा रहेका नेपाली समुदायले मातृभूमिप्रति देखाएको सहयोग र सद्भाव महत्त्वपूर्ण रहेको बताउनुभएको थियो । उहाँले बाढीपहिरोजस्ता विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्राप्त सहयोगले ठूलो अर्थ राख्ने बताउनुभएको थियो ।

मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तारा भट्टराईले नेपालमा विपद्का कारण नागरिक समस्यामा परेकाबेला मन्दिरकोतर्पmबाट थोरै भए पनि सहयोग गर्ने उद्देश्यले उक्त रकम सङ्कलन गरिएको बताउनुभयो ।

उक्त रकम जनैपूर्णिमा, कृष्णजन्माष्टमी र हरितालिका पर्व (तीज) का अवसरमा मन्दिरमा आएका नेपाली तथा विदेशी भक्तजनबाट प्राप्त दानबाट सङ्कलन गरिएको उपाध्यक्ष भट्टराइले जानकारी दिनुभयो ।

तेइस वर्षअघि स्थापना गरिएको लन्डनस्थित पशुपतिनाथ मन्दिरले नेपालमा बाढीपीडितका लागि पहिलो पटक आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिर व्यवस्थापन समितिले बेलायतमा रहेका नेपाली समुदाय र भक्तजनको सहयोगमा धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.