प्रबासबिशेष

न्युयोर्कको शहर छाडेर खेतबारीमा कृषि र पशुपालनमा सक्रिय एभरेस्ट केसी

अमेरिकामा नेपाली समुदायका अधिकांश सदस्य रोजगारी, व्यवसाय र विभिन्न पेसामा व्यस्त भइरहेका बेला एभरेस्ट केसीले भने फरक बाटो रोज्नुभएको छ ।

न्युयोर्कको व्यस्त सहरी जीवनबाट टाढा ‘अपस्टेट’ न्युयोर्कको ग्रामीण परिवेशमा उहाँ माटोसँग रमाउँदै कृषि र पशुपालनमा सक्रिय हुनुहुन्छ ।

न्युयोर्क राज्यको साउथ कोर्टराइटमा रहेको ‘मुनमिरा फार्म’ केसीको यही प्रयासको प्रतिफल हो । करिब १०० रोपनी क्षेत्रफलमा फैलिएको यो फार्म कृषि उत्पादनसँगै खसीबोका र कुखुरापालनका लागि पनि परिचित छ ।

सन् २०१८ देखि कृषि व्यवसायमा सक्रिय उहाँले फार्मलाई उत्पादन र पशुपालनमा मात्र सीमित नराखी नेपाली समुदायका लागि ग्रामीण जीवन र कृषि अनुभवसँग जोडिने गन्तव्यका रूपमा समेत विकास गर्नुभएको छ ।

“हामी नेपाललाई कृषि प्रधान देश भन्छौँ । तर अमेरिकाको कृषि क्षेत्रमा नेपालीको उपस्थिति त्यति देखिँदैन,” केसीले न्यूयोर्कबाट प्रकाशित हुने खसोखास खबरसँगको कुराकानीमा भन्नुभएको छ, “नेपाली पनि कृषक हुन् भनेर देखाउन र यहाँका अमेरिकी कृषकहरूसँग सहकार्य गर्न सकिन्छ भन्ने लागेर म यो क्षेत्रमा आएको हुँ । भविष्यमा पनि नेपाल कृषि प्रधान देश हो भनेर चिनाउन चाहन्छु ।”

माटो, पशुपालन र कृषि व्यवसाय

अमेरिकामा नेपाली आप्रवासीका लागि रोजगारी र व्यवसायका अनेक विकल्प छन् । धेरैजसो नेपालीले रेस्टुरेन्ट, यातायात, सूचना प्रविधि तथा अन्य व्यवसायमा आफ्नो भविष्य खोजिरहेका बेला केसीले भने कृषि र पशुपालनमा सम्भावना देख्नुभयो । उहाँका लागि यो व्यवसाय आम्दानीको माध्यम मात्र होइन, आफ्नो रुचि र नेपालको कृषि पहिचानसँग जोडिने अवसर पनि हो ।

मुनमिरा फार्ममा कृषि उत्पादनसँगै खसीबोका र कुखुरापालन प्रमुख गतिविधिका रूपमा रहेका छन् । विशेषगरी नेपाली समुदायका ग्राहकलाई लक्षित गरी खसीबोका र कुखुरा उपलब्ध गराइने भएकाले फार्मले छुट्टै पहिचान बनाएको छ ।

नेपाली खानपान, चाडपर्व र पारिवारिक जमघटमा खसीको मासुको विशेष महत्त्व रहने भएकाले त्यससँग जोडिएको मागलाई ध्यानमा राखेर सेवा उपलब्ध गराउँदै आएको केसी बताउनुहुन्छ ।

खेतीपाती र पशुपालनले उहाँलाई प्रकृतिसँग नजिक रहने, माटोसँग काम गर्ने र स्वस्थ जीवनशैली अपनाउने अवसर पनि दिएको छ । अमेरिकी कृषकहरूले आधुनिक उपकरण र प्रविधिको प्रयोग गरेर खेती गरेको देख्दा आफूलाई यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उहाँको अनुभव छ ।

अमेरिकामा कृषि उपकरण, ट्र्याक्टर तथा अन्य मेसिनरी सहज रूपमा उपलब्ध हुने भएकाले खेतीलाई व्यवस्थित ढंगले अघि बढाउन सकिने उहाँ बताउनुहुन्छ ।

“यहाँका मानिसहरूसँग सबै सुविधा हुँदाहुँदै पनि उहाँहरू कृषि क्षेत्रमा मेहनत गरिरहनुभएको छ । हामी त झन् कृषि प्रधान देशबाट आएका मानिस हौँ । हामीले किन नगर्ने भन्ने लाग्यो,” उहाँले भन्नुभएको छ ।

कृषि व्यवसायमा मेहनत र समय दुवै आवश्यक पर्ने केसी स्वीकार गर्नुहुन्छ । यसबाट जीवनयापन गर्न सकिने भए पनि आफ्नो आम्दानीको विस्तृत हिसाब भने आफूले नराखेको उहाँको भनाइ छ । बजार व्यवस्थापनलाई भने आफूले ठूलो समस्याका रूपमा नलिएको उहाँ बताउनुहुन्छ ।

नेपाली परिवारका लागि ग्रामीण बिदाको गन्तव्य

मुनमिरा फार्म अहिले कृषि उत्पादन र पशुपालनमा मात्र सीमित छैन । न्युयोर्क तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारका लागि प्रकृतिसँग रमाउने र सहरको व्यस्तताबाट केही समय टाढा बिताउने ठाउँका रूपमा पनि यो विकसित हुँदै गएको छ ।

फार्ममा बसोबास गर्न मिल्ने व्यवस्था छ । क्याम्पिङ, क्याम्प फायर, पोखरीमा रमाउने तथा खुला वातावरणमा समय बिताउने सुविधा उपलब्ध रहेको केसी बताउनुहुन्छ । बालबालिकाका लागि खेल्ने ठाउँसमेत रहेको फार्मको आसपासमा खोला र हिँडडुल गर्न मिल्ने प्राकृतिक बाटाहरू छन् ।

फार्ममा रहेका खसीबोका, कुखुरा तथा अन्य जनावरलाई नजिकबाट हेर्न र तिनको गतिविधि अनुभव गर्न पाउनु बालबालिकाका लागि अर्को आकर्षण हो । सहरी वातावरणमा हुर्किरहेका बालबालिकाले कृषि र पशुपालनबारे प्रत्यक्ष रूपमा बुझ्ने तथा अनुभव गर्ने अवसर यसले प्रदान गरेको छ ।

नेपाली समुदायका लागि खसीबोका र कुखुरा उपलब्ध हुने फार्मका रूपमा यसको छुट्टै महत्त्व छ । विशेषगरी नेपाली खानपान र पारिवारिक जमघटका लागि आवश्यक सामग्रीको खोजीमा ग्राहकहरू यहाँ पुग्ने गरेका छन् ।

यसरी मुनमिरा फार्मले कृषि उत्पादन, पशुपालन, मनोरञ्जन र पारिवारिक जमघटलाई एउटै स्थानमा जोड्ने प्रयास गरेको छ । नेपाली समुदायका सदस्यलाई गाउँघरको वातावरण र प्रकृतिसँग जोडिने अवसर पनि यसले दिएको छ ।

अमेरिकी कृषि प्रणालीबाट नेपालले सिक्न सक्ने पाठ

अमेरिकामा कृषि व्यवसाय सञ्चालन गर्दाको आफ्नो अनुभव नेपालका कृषकका लागि पनि उपयोगी हुन सक्ने केसीको विश्वास छ । विशेषगरी कृषि क्षेत्रमा प्रविधि र यान्त्रिकीकरणको प्रयोगलाई उहाँले महत्त्वपूर्ण मान्नुहुन्छ ।

उहाँका अनुसार अमेरिकामा ट्र्याक्टर, कृषि उपकरण र अन्य मेसिनरीको प्रयोगले खेतीपातीको काम सहज बनाएको छ । नेपालमा भने अझै पनि कृषि कार्यका लागि ठूलो मात्रामा मानवीय श्रममा निर्भर रहनुपर्ने अवस्था छ ।

“यहाँ कृषकहरूले धेरै उपकरण र ट्र्याक्टर प्रयोग गर्नुहुन्छ । सबै कुरा सजिलै उपलब्ध हुन्छ । नेपालमा भने अझै धेरै काम मानिसले नै गर्नुपर्ने अवस्था छ,” उहाँ भन्नुहुन्छ, “त्यसलाई विस्तारै परिवर्तन गर्न सकियो भने नेपालको कृषि क्षेत्र अझ राम्रो हुन सक्छ ।”

नेपालमा अमेरिकी कृषि प्रणालीलाई हुबहु लागू गर्नुभन्दा स्थानीय आवश्यकता, भौगोलिक अवस्था र उपलब्ध स्रोतअनुसार प्रविधिको प्रयोग बढाउनुपर्ने उहाँको अनुभवले देखाउँछ । कृषि क्षेत्रमा आधुनिक उपकरणको पहुँच विस्तार गर्न सके उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुग्ने उहाँको बुझाइ छ ।

केसीका लागि अमेरिकामा फार्म सञ्चालन गर्नु व्यक्तिगत व्यवसाय विस्तारको प्रयास मात्र होइन । विदेशमा रहेर पनि नेपालको कृषि पहिचानसँग जोडिइरहने र नेपालीहरूलाई कृषि क्षेत्रमा समेत सम्भावना छ भन्ने सन्देश दिने माध्यम हो ।

सबैलाई खुला निमन्त्रणा

न्युयोर्क र आसपासका नेपाली समुदायका सदस्यलाई मुनमिरा फार्म भ्रमण गर्न केसीले निमन्त्रणा दिनुभएको छ । परिवारसहित समय बिताउन, क्याम्पिङ गर्न, खसीबोका तथा कुखुराबारे जानकारी लिन वा ग्रामीण वातावरणको अनुभव गर्न चाहने सबैलाई स्वागत रहेको उहाँ बताउनुहुन्छ ।

“यहाँ सबैलाई सधैँ स्वागत छ । आउन चाहनेले फोन गरेर मलाई सम्पर्क गर्न सक्नुहुन्छ,” उहाँले भन्नुभएको छ । न्युयोर्क राज्यको साउथ कोर्टराइटस्थित ५६५०८ स्टेट हाइवे १० मा रहेको मुनमिरा फार्म सहरको व्यस्त जीवनबाट केही समय टाढा प्रकृतिसँग रमाउन चाहने नेपाली परिवारका लागि एउटा विकल्प बनेको छ ।

आप्रवासी जीवनमा सफलता खोज्ने बाटो सबैका लागि एउटै हुँदैन । कसैले सहरका व्यस्त सडकमा आफ्नो भविष्य खोज्छन्, कसैले प्रविधि र व्यापारमा सम्भावना देख्छन् । केसीले भने खेतबारी, खसीबोका र कुखुरापालनबीच आफ्नो भविष्य खोजिरहनुभएको छ ।

अमेरिकाको भूमिमा कृषि कर्ममार्फत नेपाली पहिचान स्थापित गर्ने उहाँको प्रयास आप्रवासी नेपालीका लागि एउटा फरक उदाहरण पनि बनेको छ ।

स्रोत : दीपक परियार, खसोखास खबर, न्युयोर्क

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.