सम्पादकीय

सर्वस्वीकार्य पर्व विजया दशमी

दशैं नेपालीहरुको एउटा पर्व मात्र होइन- राष्ट्रिय एकता, भाइचारा, सहिष्णुता, सद्भाव प्रकट गर्ने सनातनी संस्कार र पद्धति पनि हो । सनातनदेखि चलिआएको यो विशेष पर्वले नेपाली समाजलाई गहिरो प्रभाव पार्दैआएको छ । दशैंले नेपाली मनको भावनात्मक सम्बन्धलाई सधैं जागरुक गराउने गरेको छ ।

बडादशैं हाम्रो संस्कृति, जीवनपद्धति एवं धार्मिक प्रवृतिको उद्बोधन र पुनर्जागरण गर्नेगरेको वास्तविकता बोधले नेपाली समाजको गौरवपूर्ण पक्षलाई निरन्तरता दिँदैआएको छ ।

सद्विचार, सहभाव, सदाचार र सहमतिको वाञ्छित मानवीय संस्कृतिको निर्माणमा दशैंले जीवन्त रूपमा प्रवाह गर्दैआएको सन्देश सदा अनुकरणीय छ । नेपाली समाजको वर्तमान अवस्था हेर्ने हो भने हाम्रा सांस्कृतिक मूल्य, मान्यता र आदर्शहरूमाथि अनेक चुनौती खडा हुँदैगएका छन् ।

राष्ट्रिय संस्कृतिविरुद्धका प्रायोजित र प्रक्षेपित गतिविधिले खडा गर्दैगएका समस्याहरूले नेपाली समाजभित्र व्याप्त सांस्कृतिक चेत, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सहअस्तित्वबोधको मूल प्रवृत्तिमाथि नै धावा बोल्नथालेको देखिँदैछ । यस्ता आसुरी प्रवृत्तिसंग बच्न र नेपाली समाजको सौन्दर्यको रुपमा रहेको राष्ट्रिय संस्कृतिको जगेर्ना गरेर राष्ट्रिय स्वाभिमान कायम राखिरहन बडादशैं लगायतका सांस्कृतिक चाडपर्वको महत्त्व अद्वितीय र अतुलनीय छ ।

नेपाली समाज अहिले जुन बिषम परिस्थितिबाट गुज्रिइरहेको छ त्यसले खडा गरेका बहुविद् चुनौतीको सामना गर्न राष्ट्रिय एकता अपरिहार्य छ । राष्ट्रिय एकताको मूल स्रोत भनेको सद्विचार, सद्भाव र सहकार्यप्रति सञ्चेतना जगाइरहने राष्ट्रिय संस्कृति नै हो । यसमा हाम्रो आत्मपहिचान छ र राष्ट्रिय चेतना प्रवाहको आधार स्रोत पनि त्यही हो ।

परिवर्तित विश्व सन्दर्भले हाम्रा सामाजिक, आर्थिक, राजनीतिक एवं सांस्कृतिक परिवेशमाथि पारिरहेको प्रभाव र हाम्रा आन्तरिक कारणबाट खडा हुँदैगएका चुनौतीहरूको आलोकमा हाम्रा आफ्ना मौलिकता झल्किने सांस्कृतिक धरोहरहरूको जगेर्ना गर्नु र समयसापेक्ष परिवर्तनको धारलाई पनि आत्मसात गर्दैजानुको विकल्प छैन । अन्धानुसरण र अन्धानुकरणको आवेगबाट मुक्त रहेर राष्ट्रिय संस्कृतिको संरक्षण र प्रबर्धन गर्नु सनातन संस्कृतिका अनुयायी समस्त नेपालीहरूको सामुहिक दायित्व हो ।

नेपाली समाजमा अहिले समभाव, सहकार्य, सहअस्तित्वबोध र सहिष्णुताको अभाव जुन रुपमा खड्किँदैगएको छ त्यसले हाम्रो मौलिक स्वरूप, चिन्तनपद्धति र जीवनपद्धतिमाथि नै नकारात्मताको स्थिति सिर्जना गरेको छ । अर्को शब्दमा भन्ने हो भने आसुरी प्रवृतिको यसरी नै बोलबाला बढेर जाने हो भने हाम्रो संस्कृतिमात्रै होइन हाम्रो राष्ट्रिय अस्तित्वमाथि नै आँच आउनसक्छ ।

नेपाली समाजमा सांस्कृतिक–धार्मिक अतिक्रमणको जुन रुप र गति देखिएको छ त्यसलाई रोक्न सकिएन भने हाम्रो मौलिकतामात्रै गुम्ने होइन सार्वभौमिक अस्तित्व र स्वाभिमान नै जोगिने छैन । त्यस कारण पनि बडादशैं–तिहार लगायतका चाडपर्वहरू निरन्तर मनाइरहने सचेनतायुक्त उल्लासमय वातावरण नितान्त अपेक्षित छ । यसैमा हाम्रो सान र गौरव सन्निहित छ ।

बडा दशैं समस्त नेपालीका लागि सर्वस्वीकार्य र सर्वग्रहणीय राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा युगौंदेखि प्रचलित छ । त्यसैले त स्वदेशमा रहेका हुन् वा विदेशमा, सबैले दशैंलाई आफ्नो पर्व मान्दै मेलमिलाप, भाइचारा, सहिष्णुता र सामाजिक–धार्मिक एकता प्रदर्शन गर्दै भब्यरुपमा मनाउँदै आएका छन् । दशैं कुनै जात, धर्म, सम्प्रदाय विशेषको पर्व नभएर नेपाली मात्रको पर्व हो भन्नेमा कुनै विमती छैन ।

यद्यपि, केही वर्षयता मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भएपछि दशैंलाई कुनै जात र धर्म सम्प्रदाय विशेषको मात्रै पर्व भन्दै यसको बिरोध गर्ने समूह र व्यक्ति सक्रिय रहे पनि यसको कुनै प्रभाव छैन । बहुजातीय र बहुधार्मिक–सांस्कृतिक परम्पराले नेपाली समाज वेष्ठित रहेको र सामाजिक सद्भाव उच्च रहेको अवस्थाले गर्दा भाँडभैलो मच्चाउन चाहनेहरुको प्रयास विफल हुँदैआएको छ । दशैंलाई राष्ट्रिय चाड होइन भन्नेहरुको मुख बन्द भएको छ ।

सनातनदेखि चलिआएको बडा दशैं सनातनी धर्माबलम्बीहरूले विशेष चाडपर्वका रूपमा मनाउँदैआएका छन् र मनाइरहने छन् । के धनी, के गरीब, हुने खाने वा हुँदा खाने सबैले दशैंलाई आआफ्नो क्षमता अनुसार मनाउने गरेका छन् । जुनसुकै जात, धर्म, सम्प्रदायका हुन् र स्वदेशमा बसेका हुन वा विदेशमा रहेका सम्पूर्ण नेपाली दशैंलाई आफ्नो पर्व मान्छन् ।

दशैं केवल एउटा पर्व मात्र हैन, धार्मिक–सांस्कृतिक विशिष्टताले सुशोभित अनेक गाथाहरू यो पर्वसंग जोडिएका छन् । आध्यात्म चेतनाबाट अनुप्राणित हुँदैआएको नेपाली समाजले हिन्दु धर्मग्रन्थहरूमा उल्लेखित अनेकौं जीवनोपयोगी प्रेरक गाथाहरू यो सन्दर्भमा जोडिएका अवश्य छन् तापनि नेपालले विशेष राष्ट्रिय चाडपर्वकै रूपमा बडा दशैंलाई मनाउँदैआएको गौरवमय परम्परा छ ।

राष्ट्रिय संस्कृति राष्ट्रको गौरव हो । सदाचार, सहभाव र सद्विचारबाट अनुप्राणित नेपालको राष्ट्रिय संस्कृतिको द्योतक हो बडा दशैं । नेपालको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता अक्षुण राख्ने बलियो आधार भनेको राष्ट्रिय संस्कृति नै हो । राष्ट्रिय संस्कृति भनेको राष्ट्रको मुटु हो । कुनै पनि राष्ट्रको मौलिक संस्कृतिमाथि प्रहार गरेर सामाजिक सांस्कृतिक विभेद खडा गरी द्वन्द्व सिर्जना गर्न सकेमात्र त्यो देश बिखण्डित र नष्ट गर्न सकिन्छ भन्ने कुत्सित अभिष्ट राख्नेहरूको अवाञ्छित गतिविधि अहिले नेपालको मौलिक संस्कृति नष्ट गर्न लक्षित छ । नेपालको मौलिक अस्तित्व समाप्त पार्ने दुराकांक्षाको दिशातिर लक्षित छन् भन्ने तथ्यबोध समयक्रममा बढ्दैगएको छ । तथापि नेपाली समाजमा एकता र सहिष्णुताको जग यति बलियोसंग बसेको छ कि सामान्य धक्काले यसलाई हल्लाउन पनि सक्दैन भन्ने तथ्य सिद्ध भैसकेको छ ।

नेपालीहरूलाई नेपालको सनातन धर्म र संस्कृतिले नै सद्भावपूर्ण एकताको सूत्रमा बाँधेको कुरा निर्विवाद छ । तर नेपालको स्वतन्त्रता र सार्वभौमिक अखण्डतामाथि कुदृष्टि राख्ने विधर्मी र अधर्मीहरूले नेपालको मौलिक संस्कृतिमाथि प्रहार गर्दै अनेक प्रपञ्च रचेर धार्मिक–सांस्कृतिक सहिष्णुताविरुद्ध तथ्यहीन प्रचार गरेर केही वर्षदेखि दशैं बहिष्कारका कुरा उठाउने र इशाई धर्मको प्रचारलाई सुनियोजित गति दिने गरेका घटनाहरू पनि देखिन थालेका छन् ।

गरीबी, पछौटेपन, अशिक्षाका कारण धर्म परिवर्तनको क्रमले जति गति लिइरहेको छ त्यसमा राजनीतिक अवस्थाले पनि मलजल गरेको छ र नेपाल सांस्कृतिक विचलनको नराम्रो चपेटामा पर्दैगएको अनपेक्षित वास्तविकता उजागर भैरहेको छ । तर, जनतामा विस्तारै जागृत हुँदै गएको चेतनाले दशैं जस्ता पर्वहरुको महत्व अरु बढेको छ र विधर्मीहरुको योजना विफल हुँदै गएको छ ।

नेपालीहरुले आफ्नो मौलिकता रक्षाका लागि विगतदेखि वर्तमानसम्म देखाएको एकता भविष्यमा पनि कायम रहने नै छ । दुर्गा भवानीले हामी सबैलाई आफ्नोपनमा खुसी हुने, गौरब गर्ने र शान्ति, स्थिरता, सहिष्णुता, एकताका साथ समृद्धिको दिशामा अघि बढ्ने प्रेरणा प्रदान गरुन् । सबैमा शुभकामना !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.