नेपालमा नयाँ सरकार गठन भएपछि नियुक्त हुने प्रधानमन्त्रीलाई पहिलो बधाई दिने भारत हुन्छ र नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण पनि भारत नै हुनेपर्छ ।
२०८२ भदौ २३।२४ को जेनजी आन्दोलनपछि सोही वर्षको फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारका प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण भारत नै भयो ।
यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले यसअघिका जस्तो भारत जान मरिहत्ते गरेको पाइएन । भारतबाटै पटकपटक निमन्त्रणा आइरह्यो र अन्ततः मंसिर ६-७ मा भ्रमण सम्पन्न भयो । यो भ्रमण नेपालको वर्तमान आर्थिक, सामाजिक कठिनाईलाई सम्बोधन गर्न फलदायी भएको मानिन्छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पन्न भारत भ्रमणलाई समग्रमा आर्थिक तथा विकास साझेदारीका दृष्टिले उपलब्धिमूलक मानिए पनि दुई देशबीच रहेका विगतका समस्या कायमै रहनुलाई भने प्रश्न गर्ने ठाउँ रहेको छ ।
भ्रमणको लेखाजोखा गर्दा राष्ट्रिय हितका संवेदनशील विषयमा कति प्रगति भयो, विगतका सहमति कार्यान्वयनका लागि कस्तो आधार बन्यो र भविष्यको सम्बन्धलाई कति सन्तुलित तथा विश्वसनीय बनाइयो भन्ने मूख्य आधार हुन्छन् ।
भ्रमणको सबैभन्दा ठूलो उपलब्धि आर्थिक सहयोगको घोषणा हो । भारतले भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहयोग घोषणा गरेको छ ।
नेपालका लागि पुनर्निर्माण, पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा लगानीको अभाव रहेको अवस्थामा यो सहयोग महत्वपूर्ण हो । तर रकम घोषणा हुनु र वास्तविक परियोजनामा खर्च हुनु फरक विषय हुन् । सहायता कुन आयोजनामा, कुन समयसीमाभित्र र कस्तो सर्तमा परिचालन हुन्छ भन्ने स्पष्टता आउनु आवश्यक छ ।
ऊर्जा, यातायात, हवाई मार्ग, व्यापार तथा पूर्वाधारका क्षेत्रमा भएका समझदारीले पनि नेपालका लागि सम्भावनाको ढोका खोलेका छन् । काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति, ऊर्जा व्यापार विस्तार, सीमापार यातायात तथा अन्य विकास आयोजनामा सहकार्यले नेपालको आर्थिक गतिविधि विस्तार गर्ने अपेक्षा छ ।
भारतसँगको बजार, पारवहन सुविधा र लगानीलाई उपयोग गर्न सके नेपालको उत्पादन, पर्यटन र ऊर्जा निर्यातले नयाँ गति लिन सक्छ । यी सहमति कार्यान्वयनमा आएमा भ्रमणको लाभ दीर्घकालीन हुनेछ ।
तर नेपालको सत्ता राजनीतिको सबभन्दा कडा प्रश्न सीमा विवाद, १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकनका विषय हुन् । त्यस्तै दुई मुलुकले गठन गरेकको संयुक्त प्रबुद्ध व्यक्ति समूह -ईपीजी) को प्रतिवेदन, व्यापार घाटा, नेपाली वस्तुको भारतीय बजारमा सहज पहुँच तथा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाजस्ता विषयले अपेक्षित प्राथमिकता पाएनन् ।
विशेष गरी विगतमा नेपालको सार्वभौमिकता र सीमा विषयमा मुखर रूपमा धारणा राख्दै आउनुभएका प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा यी विषयमा ठोस राजनीतिक पहल गर्न नसक्नु आलोचनाको आधार बनेको छ ।
भारत भ्रमणअघि विपक्षी दलहरूले राष्ट्रिय सहमतिमा साझा एजेन्डा तय गरेर जानुपर्ने सुझाव दिएका थिए । उनीहरूको जोड सीमा समस्या, पुराना सन्धि पुनरावलोकन, व्यापार, जलस्रोत, आर्थिक सहायता र नेपाल–भारत सम्बन्धमा रहेको विश्वासको संकटलाई प्राथमिकतामा राख्नुपर्नेमा थियो ।
हुन त अहिले सुझाव दिनेहरु पनि हिजो सत्तामै थिए, अरुलाई सुझाव दिन सजिलो हुन्छ र भारतसंग जुनसुकै भ्रमणमा पनि विवादित विषयलाई नै मुख्य एजण्डा बनाउनु जरुरी हुँदैन ।
यद्यपि विपक्षीको आलोचनालाई केवल राजनीतिक विरोधका रूपमा पन्छाउन मिल्दैन । विदेश भ्रमणमा प्रधानमन्त्रीले देशको प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रिय सरोकारका विषयमा राजनीतिक दल, विज्ञ र सरोकारवालाबीच छलफल हुनु कूटनीतिक बलको आधार हो । भ्रमणमा आर्थिक पक्षले प्राथमिकता पाउँदा राजनीतिक तथा रणनीतिक मुद्दा ओझेलमा परेको आलोचनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ ।
अर्को महत्वपूर्ण भारतसँग सबै विवाद एकै भ्रमणमा समाधान हुन्छ भन्ने अपेक्षा यथार्थपरक होइन । पहिलो विश्वास र आपसी सद्भाव तथा खुला सहयोगको वातावरण बन्नुपर्छ । दुई देशबीचको सम्बन्धमा इतिहासदेखि थाती रहेका विषयलाई कुनै एक सरकारको पालामा समाधान हुनुपर्छ भनेर कराउनु तर्कसंगत हुँदैन ।
यस्ता समस्या समाधान गर्न निरन्तर संवाद, राजनीतिक इच्छाशक्ति र संस्थागत कूटनीति आवश्यक पर्छ । र यसका लागि आर्थिक सहकार्य विस्तार गर्दै विवादित मुद्दा उठाउनसक्ने वातावरण बनाउनु पर्दछ ।
भारत नेपालको प्रमुख व्यापार साझेदार, ठूलो बजार, पारवहन सुविधा उपलब्ध गराउने छिमेकी तथा ऊर्जा व्यापारको महत्वपूर्ण पक्ष हो । भारतको आर्थिक विकास, पूर्वाधार विस्तार र प्रविधिगत प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्छ । त्यसका लागि नेपालले आफ्ना प्राथमिकता स्पष्ट पार्नुपर्छ ।
जलविद्युत्, पर्यटन, कृषि, उद्योग, सीमापार रेल तथा सडक सञ्जाल र धार्मिक पर्यटनजस्ता क्षेत्रमा साझा परियोजना अघि बढाउन सकिन्छ । अयोध्या–जनकपुर, बौद्ध तीर्थस्थल–लुम्बिनी तथा पशुपतिनाथ–मुक्तिनाथजस्ता धार्मिक गन्तव्य जोड्ने पर्यटन मार्गले आर्थिक र सांस्कृतिक सम्बन्ध दुवै विस्तार गर्न सक्छ ।
प्रधानमन्त्री शाहको भ्रमणले दुई देशबीच संवाद र सहकार्यको सकारात्मक वातावरण बनाएको छ । अब घोषणालाई कार्यान्वयनमा लैजान परियोजनागत विवरण, समयसीमा, अनुगमन र जवाफदेहिताको व्यवस्था गर्नुपर्छ । राष्ट्रिय हितका विषयमा विपक्षीले उठाएका प्रश्नको जवाफ पनि परिणामबाट दिनुपर्छ ।
भारत भ्रमणको उपलब्धि आर्थिक सहयोगको आकारले मात्र होइन, त्यसले नेपालको विकास, आत्मनिर्भरता र राष्ट्रिय स्वार्थमा कति योगदान पुर्याउँछ भन्ने आधारमा मूल्यांकन हुनेछ ।
सहकार्यमा उपलब्धि हासिल गर्नु र राष्ट्रिय हितका विषयलाई सन्तुलित रूपमा अघि बढाउन सके प्रधानमन्त्री बालेनको भारत भ्रमण दुई देशको सम्बन्धमा साँच्चै नयाँ आधारशिला बन्नसक्छ । अन्यथा, ठूला घोषणा र समझदारी विगतका अधुरा प्रतिबद्धताजस्तै कागजमा सीमित हुने जोखिम रहिरहनेछ ।




प्रतिक्रिया राख्नुहोस्