सबै नेपालीको घरमा समृद्धि र भाइचाराको प्रकाश छिरोस्
नेपालमा मनाइने हरेक चाडपर्वको आआफ्नै विशेषता छन् । हरेक जातजाति, धर्म, सम्प्रदाय र क्षेत्रमा मनाइने पर्वहरुले एकता, सद्भाव, सहिष्णुता प्रदर्शन गर्दै आर्थिक सामाजिक गतिविधिलाई प्रवद्र्धन गरिरहेको हुन्छ ।
चाडपर्वहरु धर्म, संस्कृतिसंग मात्र सम्बन्धित नरहेर यो प्रकृति र आर्थिक गतिविधि सक्रिय बनाउने मुख्य अवसर पनि हो र यसमा तिहार प्रमुख पर्व हो । पशुपक्षीदेखि मानिस हुँदै धनकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइने तिहार प्रकृतिको नियम सन्तुलित बनाउने पर्व पनि हो ।
रंगीन, प्रकाश, समृद्धि र आत्मीयता साटासाट गर्ने तिहारको पाँच दिनलाई यमपञ्चक समृद्धि, दीप र उज्यालोसँगै मात्र जीवन, मृत्यु, प्रकृति, जनावर र मानवीय सम्बन्धको गहिरो सम्मानसंग गाँसिएको तिहारको पाँच दिनको आफ्नै विशेष महत्व हुन्छ।
काग, कुकुरको पूजा गरेपछि तिहारको तेस्रो दिन सर्वाधिक महत्वपूर्ण रहेको छ । यस दिन विहान धन, समृद्धि र पवित्रताको प्रतीक गाईको पूजा गरी साँझ घरघरमा लक्ष्मी पूजा गरी समृद्धिलाई स्वागत गरिन्छ। यसै गरी चौथोा दिन गोवर्धन पूजा गरिन्छ भने यही दिन नेवार समूदायले म्हः पूजा गर्दछन् । म्हः पूजाको अर्थ आत्माको पूजा हो ।
तिहारको सबैभन्दा महत्वपूर्ण पक्ष भाइटीका हो । यसको धार्मिक मान्यता जेजस्तो रहे पनि भाइटीकाको सन्देश पारिवारिक मिलन र एकता हो । परिवारका सदस्यहरुबीचको एकता नै शक्ति हो भन्ने रहेको छ । दिदीभाइ र दाजुबहिनीबीचको सम्बन्धलाई बलियो बनाउने यो दिन पारिवारिक बेमेल अन्त्य गर्ने सुवर्ण अवसर पनि हो ।
विविध मान्यता, विश्वास र आस्था प्रकट हुने तिहार आफैंमा गहन पक्षहरु समेटिएको पर्व हो । यो केवल धार्मिक कर्मकाण्डमा सीमित छैन। यसले प्रकृति र जनावरहरूप्रतिको कृतज्ञता, महिला सशक्तीकरण (लक्ष्मीपूजा), आत्मा र व्यक्तिगत अस्तित्वको सम्मान (म्हः पूजा), र पारिवारिक सम्बन्धहरूको संरक्षण (भाइटीका) जस्ता गहन मूल्यहरू समेट्छ।
त्यस्तै सामाजिक सद्भाव दर्शाउने सर्वाधिक महत्वपूर्ण पक्ष देउसीभैलोलाई लिन सकिन्छ । यसरी अनेक विशेषतासंगै मानज समाजलाई गतिशील र शान्त बनाउने तिहार हर्ष, उल्लाषका साथ समृद्धिको आराधना मनाइने तिहारले जीवन र जगत बुझाउने गहन अर्थ बोकेको छ ।
बेमेल हटाउँदै भाइचारा बढाउन समेत विशेष भूूमिका खेल्नुका साथै समुदायलाई एकत्रित गर्ने, सम्बन्धलाई बलियो बनाउने र सकारात्मक ऊर्जा फैलाउने काम गरिरहेको छ। आपसी बेमेल हटाउँदै संस्कृति र समृद्धिको यात्रामा अघि बढ्न प्रेरित गर्ने तिहार केवल खाने, पिउने मात्र पर्व होइन ।
तिहार उज्यालो र घरघरमा समृद्धि भित्र्याउने चाड हो । लक्ष्मी पूजाको दिन औंसीको रात भए पनि वातावरण प्रकाशमय हुन्छ । तिहार केवल घरमा बत्ती बाल्ने मात्र होइन, मनमा पनि आशा र प्रेमको उज्यालो बाल्ने चाड। यो आत्मा, सम्बन्ध, प्रकृति र संस्कृतिप्रतिको श्रद्धा हो।
तिहार केवल एउटा चाड मात्र हैन यो जीवन दर्शन हो, जुन हामीले संरक्षण गर्नुपर्छ, आत्मसात् गर्नुपर्छ र सन्तानहरूमा हस्तान्तरण गर्नुपर्छ। तिहारकोे मौलिकता गुम्न दिनु हुँदैन ।
आज देश एक किसिमले अन्धकारमा छ । आशा, भरोसा टुट्दै निराशा मात्र बढिरहेको छ । आपसी द्वन्द्वले घर, परिवार, समाज भाँडिएको छ । पेट पाल्नककै लागि विदेशिनुपर्ने बाध्यता छ । यस्तोमा समृद्धि, शान्ति, सहिष्णुता र मिमलापको पर्व तिहारले हरेक नेपालीको घरमा समृद्धि र भाइचारा ल्याओस् । यही शुभकामना




प्रतिक्रिया राख्नुहोस्