सम्पादकीय

यसपालि दशैंको कोसेली : कोरोनाबाट बच्ने जीवनशैली

यादब देवकोटा

नेपालीहरूको महान चाड बडादशैँ सुरू भएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकाबीच यसपालिको दशैं निकै कष्टकर रुपमा मनाउनुपर्ने बाध्यता छ । आफ्नो धर्म, संस्कृति र परम्पराप्रति गर्व गर्दै रमाउने नेपालीहरुका लागि कोरोना महामारीले बाटो छेकेको छैन । अघिल्ला वर्षहरुको शहर–बजार ठेलमठेल नभए पनि दशैं मनाउने उत्साहमा कमी आएको छैन ।

नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भए पनि बडादशैँको अवसरले विभिन्न धर्म र संस्कृतिका अनुयायीहरूले पनि यो अवसरलाई पारिवारिक मिलन र धार्मिक सांस्कृतिक सहिष्णुताको नमूनाका रूपमा ग्रहण गर्दैआएकाले बडादशैं आम नेपालीको अनुपम सांस्कृतिक पर्वका रूपमा प्रचलित छ ।

वैदिक सनातन धर्माबलम्बीहरूले विशिष्ट चाडपर्वका रूपमा मनाइँदै आएको बडादशैँको नेपाली समाजमा ठूलो महत्व छ । नेपाल राष्ट्रभित्र रहेका नेपालीहरूका लागि मात्र होइन मुलुक बाहिर बिभिन्न देशमा छरिएर रहेका नेपालीहरूमा पनि बडादशैँको पर्वले विशेष उत्साह र उमङ्ग ल्याउने गरेको छ ।

अनेकतामा एकताको भाव जगाउँदै नेपाली समाजलाई आलोकित गर्दैआएको वैदिक सनातन धर्म र संस्कृतिविरूद्धका सुनियोजित प्रचारबाजी र षडयन्त्रात्मक गतिविधिका अनेक शृङ्खला प्रायोजित हुँदैआएको भए पनि आध्यात्म चेतनाबाट अनुप्राणित नेपाली समाजमा बडादशैँको अप्रतिम महत्व र उपादेयता निरन्तर झल्किँदैआएको छ । बडादशैँको यो पावन अवसरमा हामी देशभित्र र बाहिर रहेका राष्ट्रिय संस्कृतिप्रेमी सम्पूर्ण नेपालीजनमा आरोग्य, आपसी मेलमिलाप, सुख, समृद्धि र समुन्नतिका लागि हार्दिक शुभकामना अर्पण गर्दछौं ।

आध्यात्मिक चेतनाबाट अनुप्राणित नेपाली समाजले बडादशैंको पावन अवसरमा आदिशक्तिस्वरूपा दुर्गा भवानीको पूजा–आराधाना र स्त्रोत्रपाठ गर्ने सनातनकालदेखिको परम्परालाई आत्मसात गर्दैआएको छ । बडादशैंको प्रारम्भ आसोज शुक्लपक्षको प्रतिपदाको दिन घटस्थापना गरी शुभ साहित हेरेर जौ, गहूँ र मकैको जमरा राखेर गरिएको हुन्छ भने नौ दिनसम्म नवदुर्गाको पूजा र दुर्गासप्तशति चण्डीपाठ गर्ने, शक्तिपीठहरूमा गएर पूजाआराधना गर्ने र आफ्नो मौलिक परम्परा र धर्मसंस्कृतिको पालना गर्न उर्साह र उमङ्ग प्रदर्शन गर्ने प्रचलन रहेको देखिन्छ ।

बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक स्वरूप ग्रहण गरेको सिङ्गो नेपाली समाजलाई शदियौंदेखि एकताबद्ध बनाउन यो देशको मौलिक संस्कृति र परम्पराले जुन योगदान दिँदैआएको छ त्यसलाई पटाक्षेप गरी सांस्कृतिक विचलनको गति तीब्र पार्ने निषेधात्मक प्रवृत्तिहरू पनि यसबीचमा मौलाइरहेका छन् र राष्ट्रिय समस्याको रूप लिइरहेका छन् । समय गतिशील र परिवर्तनशील छ– हिजोको अवस्थामा समाज अडिरहन सक्दैन तापनि आफ्नो मौलिक संस्कृति र परम्पराबाट विचलित हुँदै आयातित संस्कृतिप्रति अनुराग राखेर सामाजिक धरातललाई नै विशृङ्खलित पार्ने गतिविधिको विस्तार हुँदैगयो भने राष्ट्रिय एकता र अखण्डताको जरो नै उखेलिने भय पैदा हुन्छ । नेपालको मूल सांस्कृतिक धार कुन हो र यसको संरक्षण–संवर्धन कसरी गर्ने भन्नेतिर विचार नपुर्याउने हो भने हाम्रो मौलिकता गुम्दै जान्छ ।

नेपाल अहिले सांस्कृतिक अतिक्रमणको चपेटामा छ । विदा कटौतीका नाममा राष्ट्रिय चाड मनाउन समेत व्यवधान खडा हुने अवस्थाको सिर्जनाले दूरदराजका वासिन्दाहरू आहत हुनुपरेको स्थिति सिर्जित छ । देशका विभिन्न भागमा बिधर्मीहरूको प्रलोभनपूर्ण लगानी र चलखेलका दुष्प्रभावहरू सामाजिक–सांस्कृतिक सद्भावविरूद्ध लक्षित हुँदैआएका छन् ।

नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको दरिलो आधारसूत्र बन्दैआएको सनातन धर्म र संस्कृतिविरूद्ध अनेक थरी भ्रम फैलाउन र नेपालको मौलिक संस्कृति नष्ट गरेर ऐक्यबद्ध राष्ट्रिय सोचलाई खल्बल्याउन विधर्मी बाहिरी शक्तिले सुनियोजित रूपमा अभियान चलाइरहेका र राजनीतिक–सामाजिक क्षेत्रमा त्यसको कुप्रभाव देखिइरहेको भए पनि ‘बसुधैब कुटुम्बकम्’को महान विचार र संस्कार बोकेको हिन्दु परम्पराप्रति नेपाली जनताको विशिष्ठ अनुराग यथावत नै रहेको तथ्य बडादशैंको अवसरमा नेपाली जनमानसमा जागृत उत्साह र उमङ्गको लहरले उजागर गरिरहेको छ ।

हाम्रो मौलिक संस्कृतिको संरक्षण–सम्बद्र्धन र समुत्थानका लागि राष्ट्रिय जागरण नै पैदा हुननसकेको स्थितिबोध सामाजिक रूपान्तरणको अहिलेको निर्देशित गतिविधिले प्रष्ट इङ्गित गरिरहेको छ । राष्ट्रिय संस्कृति र परम्पराको जगेर्नाका निम्ति नेपालीजनतामा बढिरहेको चेतनाको पूर्ण अभिव्यक्ति बडादशैंको अपूर्व अवसरले दिइरहेको वास्तविकता अहिले जो कोहीले पनि अनुभूत गर्नसक्छन् । यो राष्ट्रिय संस्कृति संरक्षणको द्योतक हो ।

राष्ट्रिय संस्कृतिको यो महत्वपूर्ण चाडमा आआफ्ना गाउँघर जानेहरु सबैले सचेत हुनैपर्छ कि गाउँमा कोरोना बोकेर नगइयोस् । हामी सबैले स्वस्थ रहेर, आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर कोरोना संक्रमण हुन नदिन विशेष शतर्कता अपनाउनैपर्छ । आफू पनि सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्नु हरेक नेपालीको कर्तव्य हो । हामीले दशैंको कोसेली कोरोना बनाउनु हुँदैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.