जल/वातावरण

आज रातिदेखि भारी वर्षा हुने, सचेत रहन सुझाव

नेपालमा आज बिहिबार रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था”का कारण दिनभरी मध्यम वर्षा भएपछि रातिदेखि भारी वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भए पनि रातिबाट भारी वर्षाको सम्भावना छ ।

उहाँले भन्नुभयो, “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ । आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।”

उहाँले आज दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको बताउनुभयो । जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उहाँले जानकारी दिनुभयो । त्यसै गरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ ।

मौसम विज्ञान विभागले बुधबारदेखि परेको वर्षा कात्तिक १५ गते शनिबारसम्म रहने जनाएको छ । यसका लागि सर्तकता अपनाएर सुरक्षित हुन र पदयात्राका लागि जाँदा मौसम बारे जानकारी लिएर हिँड्न अनुरोध गरेको छ ।

त्यसै गरी धान काट्ने समय रहेकाले काटन् बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर मात्रै काट्न सुझाव दिएका छन् । भारी वर्षाको सम्भावना भएकाले धान काटिहाल्ने अवस्था नरहेको मौसमविद्को सुझाव छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.