विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले राज्य सञ्चालन र विकासको विद्यमान कार्य संस्कृतिमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि परिणाममुखी कार्ययोजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण परिषद्को ११औँ बैठकलाई शनिबार धनगढीमा सम्बोधन गर्दै उहाँले नवीनतम सोच, नवप्रवर्तन र रूपान्तरणकारी योजनामार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिने र यसमा लाग्नुको विकल्प नरहेको बताउनुभयो ।
मुख्यमन्त्री भट्टले विकासका लागि योजना निर्माणमा मात्रै सीमित नभई त्यसको प्रभावकारी कार्यान्वयन र उपलब्धिको मूल्याङ्कनमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । त्यसका लागि तथ्यमा आधारित, परिणाममुखी र उपलब्धिमूलक अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री भट्टले नवीन सोच र अनुसन्धानमा आधारित योजनाले विकासका प्राथमिकता पहिचान गर्न तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले सुदूरपश्चिम प्रदेशको समृद्धि र रूपान्तरणका लागि अनुसन्धान, प्रशिक्षण तथा योजनाको कार्यान्वयनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।(रासस)



प्रतिक्रिया राख्नुहोस्