कृषि

धान फल्ने खेतमा फूलखेती

धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब रु ५० हजारको उत्पादन हुने जमिनमा फूलखेती गरेर रु १० देखि १२ लाखसम्मको कारोबार गर्ने लक्ष्यसहित झापाको बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसान फूलखेतीमा जुटेका छन् ।

विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक प्रयासमा १० कट्ठा जमिनमा सयपत्रीखेती गरेका हुन् । ‘कृषि कम्पास’ समूह गठन गरेर सुरु गरिएको उनीहरूको यो प्रयास परम्परागत खेतीको विकल्प खोजिरहेका किसानका लागि नयाँ सम्भावना बनेको छ ।

समूहले उक्त जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेको थियो । फूलखेतीका लागि रु पाँच लाख ५० हजार लगानी गरेका उनीहरूले यसबाट करिब १० हजार माला उत्पादन हुने अपेक्षा गरेका छन् ।

उत्पादित माला बिक्रीबाट कम्तीमा रु १० देखि १२ लाख आम्दानी हुने उनीहरूको अनुमान छ । अहिले फूल टिपेर माला उन्ने र तयार भएका माला कोल्डस्टोरमा भण्डारण गर्न थालिएको छ ।

समूहका सदस्य गुणराज न्यौपानेका अनुसार सोही जमिनमा धानखेती गर्दा करिब ३० मन उत्पादन हुन्थ्यो । त्यसको हालको बजार मूल्य करिब ५० हजारमात्रै पर्छ । धानखेतीबाट हुने आम्दानीभन्दा फूलखेतीबाट कैयौँ गुणा बढी आम्दानी हुने देखिएपछि उनीहरूले खेतीको विकल्प रोजेका हुन् ।

“यही जग्गामा धान रोपेको भए जम्माजम्मी ३० मन उत्पादन हुन्थ्यो । त्यसको बजार मूल्य करिब रु ५० हजारमात्रै हो । पाँच–सात वर्ष धानखेती गरेर हुने आम्दानी फूलखेतीबाट एकै वर्षमा लिन सकिने देखिएको छ”, न्यौपानेले भन्नुभयो ।

उहाँका अनुसार फूलखेतीमा बजारको सम्भावना पनि राम्रो छ । एउटा मालाको मूल्य रु १०० देखि १५० सम्म पर्ने भएकाले उत्पादन बिक्री गर्नसके अपेक्षित आम्दानी लिन सकिने उहाँको विश्वास छ ।

धानखेतीको तुलनामा फूलखेतीबाट हुने आम्दानीको सम्भावना देखेपछि समूहले आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाएको छ । समूहका अर्का सदस्य विनोद रिजालले आगामी वर्ष तीन बिघा क्षेत्रफलमा फूलखेती विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो ।

यस वर्षको अनुभव र बजारको मागले आफूहरूलाई थप क्षेत्रफलमा खेती गर्न उत्साहित बनाएको उहाँको भनाइ छ । तर फूलखेतीमा आम्दानीको सम्भावना जति छ, चुनौती पनि उत्तिकै छन् ।

फूल टिपेपछि लामो समयसम्म सुरक्षित राख्नुपर्ने र बजारसम्म पुर्याउनुपर्ने समस्या किसानसामु छ । विशेषगरी भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने र लगानी खेर जान सक्ने चिन्ता उनीहरूले व्यक्त गर्दै आएका छन् ।

यही विषयलाई लिएर जिल्लाका व्यावसायिक फूल किसानको एक समूहले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको थियो । किसानले स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिन तथा भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका थिए ।

किसानको माग र जिल्लामा फूलखेतीको अवस्थाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी पोखरेल शनिबार बुद्धशान्ति पुग्नुभएको थियो । उहाँले व्यावसायिक फूलखेती गरिरहेका किसानसँग भेटेर उत्पादन र बजारको अवस्थाबारे स्थलगत जानकारी लिनुभयो ।

सो अवसरमा उहाँले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने अवस्था भए बाहिरबाट हुने फूल आयात नियन्त्रण गर्न सकिने बताउनुभयो । “तपाईँहरूले सामूहिक रूपमा गर्नुभएको व्यावसायिक फूलखेती र स्वदेशी उत्पादनले बजार पाउनुपर्छ भन्ने माग जायज छ । प्रशासनले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिन्छ”, पोखरेलले भन्नुभयो, “झापामा फूलको ठूलो माग हुने भएकाले स्थानीय उत्पादनले बजारको माग धान्दैन कि भन्ने चिन्ता हो । पूर्वी पहाडका अन्य जिल्लाबाट पनि फूल मगाउन सकिन्छ ।”

स्थानीयसमेत रहनुभएका ‘सुन्दर शान्त नेपाल’का अभियानकर्मी मनिष दाहालले जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको आकर्षण बढ्दै गएको बताउनुभयो ।

उहाँका अनुसार बुद्धशान्तिका शान्तिनगर, सुनमाई र गोपालडाँडालगायत क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक फूलखेती भइरहेको छ । किसानको आकर्षण र खेती विस्तारको क्रमलाई हेर्दा झापा फूल उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.