राजनीति

गृहमन्त्री गुरुङसँग रास्वपा नेता र स्थानीयको छलफल

गृहमन्त्री सुधन गुरुङले तनहुँको आबुखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा स्थानीयसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ । आइतबार भएको छलफलमा स्थानीयका समस्या, जिल्लाको शान्तिसुरक्षा, अनलाइन ठगी तथा विपद्मा परेका नागरिकका विषयमा कुराकानी भएको रास्वपा नेता वासु पन्तले जानकारी दिनुभयो ।

छलफलका क्रममा स्थानीयले भोगिरहेका विभिन्न समस्या र समसामयिक विषयबारे गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराइएको थियो । विशेषगरी भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूका परिवारले सरकारका तर्फबाट भइरहेका काम तथा पीडित परिवारका लागि चालिएका कदमबारे जिज्ञासा राखेका थिए ।

विपद्मा परेका परिवारको अवस्था र उनीहरूका समस्याबारे स्थानीयले चासो व्यक्त गरेका थिए । त्यस्तै, तनहुँ जिल्लाको शान्तिसुरक्षाको अवस्था र पछिल्लो समय बढ्दो अनलाइन ठगीका विषयमा गृहमन्त्री गुरुङलाई जानकारी गराइएको थियो ।

अनलाइन माध्यमबाट हुने ठगीका घटनाले सर्वसाधारणलाई पार्नसक्ने असर तथा यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक कदमबारे छलफल भएको पन्तले बताउनुभयो ।

छलफलका क्रममा आबुखैरेनीमा गत चैतमा करेन्ट लागेर हात काट्नुपरेका एक व्यक्तिले हालसम्म राहत नपाएको गुनासो उठेको थियो । दुर्घटनाका कारण शारीरिक क्षति व्यहोर्नुपरेको अवस्थामा पनि राहत नपाएको विषय गृहमन्त्री गुरुङसमक्ष प्रस्तुत भएपछि उहाँले तत्काल चासो देखाउनुभएको थियो ।

गृहमन्त्री गुरुङले उक्त विषयमा सम्बन्धित निकायबाट आवश्यक पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर राहत उपलब्ध गराउने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको थियो ।

पीडितले राहत नपाएको गुनासोपछि गृहमन्त्री गुरुङले सम्बन्धित प्रशासनिक अधिकारीलाई नै सम्पर्क गरी प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.