राजनीति

सरकारी गतिविधिको छानबिन गर्न संसदीय समिति गठनको माग

सरकारका गतिविधिहरुप्रति प्रश्न उठाउँदैआएका विपक्षी दलहरुलाई आक्रोशित पार्ने घटनाहरु बढिरहेका छन् । पछिल्लो समय प्रहरीले विभिन्न सञ्चारगृहमा पुगेर पत्रकारलाई नियन्त्रणमा लिने र खोजी गरेको घटनाले चर्को आक्रोश उत्पन्न गरेको छ ।

प्रेस स्वतन्त्रता र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठिरहेका बेला नेपाली कांग्रेस संसदीय दलले पत्रकार धरपकडसहित सरकारका विवादित गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले सबै विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार धरपकडलगायत सरकारका विवादित गतिविधिको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो।

पत्रकार पक्राउ गर्दा स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब भएको आङ्देम्बेको भनाइ छ। उहाँले यस्ता गतिविधि विधिको शासनविपरीत रहेको उल्लेख गर्दै सरकारले त्यसको जवाफ दिनुपर्ने बताउनुभयो।

जनसरोकार र सुशासनका विषयमा सरकारले गर्ने सही काममा कांग्रेसको समर्थन रहने तर लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणका मूल्यविपरीत गतिविधि भए विरोध गर्ने उहाँले स्पष्ट पार्नुभयो।

न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्ने विषयमा कांग्रेसको धारणा निरन्तर स्पष्ट रहेको उल्लेख गर्दै आङ्देम्बेले सरकारले आफूले गरेका कामको जवाफ दिनु नपर्ने मानसिकताका साथ गतिविधि गरिरहेको आरोप लगाउनुभयो।

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई समाचार कक्षबाटै नियन्त्रणमा लिइएको थियो भने मोटिभेट न्युजका पत्रकार शोभराज बराल पनि प्रहरी नियन्त्रणमा पर्नुभएको थियो। नयाँ पत्रिका दैनिकका संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने भन्दै सादा पोशाकका प्रहरी उहाँ कार्यरत कार्यालय पुगेका थिए।

त्यस्तै, दियो पोस्टको कार्यालयमा सम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानाको खोजी गर्दै प्रहरी पुगेको विवरण सार्वजनिक भएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.