तीब्रगतिमा नेपालतिर आउँदै ‘अर्णव’ चक्रवातको प्रभावः वर्षासँगै हिमपातको जोखिम
बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना बढेको छ। मौसमविद्हरूले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम औँल्याउँदै सतर्कता अपनाउन आग्रह गरेका छन्।
चक्रवातबाट आउने जलवाष्प र माथिल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीबीच अन्तरक्रिया भए वर्षा थप लम्बिन सक्ने अनुमान छ।
भारतको मौसम विभागका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र सोमबार चक्रवातमा परिणत भएको छ। प्रणाली थप शक्तिशाली बन्दै उत्तरपश्चिमतर्फ अघि बढिरहेको र बुधबार आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्रमा पुग्ने पूर्वानुमान छ।
चक्रवातको प्रभाव नेपालमा बुधबारदेखि देखिन थाले पनि बिहीबार रातिदेखि शुक्रबार र शनिबारसम्म बढी सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार चक्रवातको प्रभावले देशका विभिन्न क्षेत्रमा बदली, वर्षा र हिमपात हुन सक्छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ भने केही स्थानमा भारी वर्षा हुन सक्छ।
कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा पनि वर्षा हुने अनुमान छ। उच्च हिमाली भेगमा भने भारी हिमपातको जोखिम रहेकाले पदयात्रा र आरोहणमा विशेष सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो।
त्रिभुवन विश्वविद्यालयको मौसम केन्द्रीय विभागका मौसमविद् विनोद पोखरेलले पनि विभिन्न मौसमी मोडेलले बिहीबारदेखि वर्षाको सम्भावना देखाएको बताउनुभएको छ।
चक्रवातबाट आएको जलवाष्प माथिल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीसँग मिसिएमा वर्षाको मात्रा बढ्न सक्ने उहाँको आकलन छ। यद्यपि, कुन क्षेत्रमा कति वर्षा र हिमपात हुन्छ भन्ने विषयमा थप मौसमी विश्लेषण आवश्यक छ।
धानबाली र यात्रामा सतर्कता
मौसम पूर्वानुमान महाशाखाले सम्भावित वर्षालाई ध्यानमा राख्दै किसानलाई बुधबारभित्र पाकेको धान काटेर सुरक्षित स्थानमा भित्र्याउन आग्रह गरेको छ। खेतमा काटेर सुकाउन राखिएको धानसमेत भिज्ने जोखिम रहेकाले आवश्यक तयारी गर्न सुझाव दिइएको छ।
पदयात्रा र आरोहणको मुख्य मौसम चलिरहेका बेला हिमाली क्षेत्रमा जाने पर्यटक तथा पदयात्रीलाई मौसमको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न मौसमविद् लामिछानेले आग्रह गर्नुभयो।
भारी हिमपातका कारण पदमार्ग अवरुद्ध हुने, हिमपहिरो जाने र आधार शिविरमा समेत बाक्लो हिउँ जम्ने जोखिम हुन सक्ने भएकाले प्रभावित क्षेत्रमा रहेका यात्रुलाई सुरक्षित स्थानमा बस्न उहाँले सुझाव दिनुभयो।
मौसम प्रतिकूल रहने अवधिमा अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपरे पूर्वानुमान तथा सडकको अवस्था बुझ्न महाशाखाले अनुरोध गरेको छ।
वर्षा र हिमपातका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई सेवामा समेत असर पर्न सक्ने भएकाले सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ।
विपद् प्राधिकरणको पूर्वतयारी गर्न आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित भारी वर्षा र हिमपातलाई ध्यानमा राख्दै पूर्वतयारी गर्न आग्रह गरेको छ।
प्राधिकरणका अनुसार कात्तिक १२ गते बिहीबार रातिदेखि चक्रवातको प्रभाव बढ्न सक्ने र शुक्रबार तथा शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मौसम बढी सक्रिय हुन सक्ने अनुमान छ।
प्राधिकरणले सङ्घीय मन्त्रालय तथा सम्बन्धित निकाय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी गराउन तथा आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटक, पदयात्री र स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
मौसमको अवस्था परिवर्तन हुन सक्ने भएकाले महाशाखा र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी पालना गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।




प्रतिक्रिया राख्नुहोस्