जन सरोकार

श्रम तथा ट्रेड युनियनसम्बन्धी ज्ञान दिने एआई पुस्तकालय सञ्चालन

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित ऐतिहासिक दस्तावेज र ज्ञान सामग्रीलाई कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित डिजिटल पुस्तकालयमा रूपान्तरण गरेको छ ।

‘र्‍याकदेखि स्क्रिनसम्म’ भन्ने मूलभावका साथ जिफन्टले मजदुर आन्दोलनका १० हजारभन्दा बढी ऐतिहासिक दस्तावेज समेटेर राष्ट्रिय श्रम स्रोत केन्द्र (एनएलआरसी) लाई डिजिटल ज्ञान केन्द्रका रूपमा विकास गरेको हो । हाल यो केन्द्र काठमाडौँको अनामनगरमा रहेकोे छ ।

जिफन्टको अर्गनाइजिङ एकेडेमीअन्तर्गत सन् १९९४ मा स्थापना भएको राष्ट्रिय श्रम स्रोत केन्द्रले भौतिक पुस्तकालयका रूपमा आफ्नो यात्रा सुरु गरेको थियो ।

जिफन्टका संरक्षक विष्णु रिमालले राष्ट्रिय श्रम स्रोत केन्द्रमा श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी पुस्तक, अनुसन्धान प्रतिवेदन, आवधिक प्रकाशन, तस्बिर, भिडियो तथा अन्य महत्त्वपूर्ण सामग्री सङ्कलित रहेको जानकारी दिनुभयो । उहाँले ती सामग्रीको सङ्कलन तथा विस्तार निरन्तर भइरहेको बताउनुभयो ।

डिजिटल पुस्तकालयमार्फत ट्रेड युनियन अभियन्ता, प्रशिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताले आफूलाई आवश्यक ज्ञान र सूचना एउटै खोज प्रक्रियाबाट केही सेकेन्डमै प्राप्त गर्न सक्ने जिफन्टले जनाएको छ ।

केन्द्रलाई सूचनाको भण्डारमा मात्र सीमित नराखी अध्ययन, अनुसन्धान तथा ज्ञान आदानप्रदानको अन्तरक्रियात्मक मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

यसै अवसरमा जिफन्टले श्रम इतिहासमा आधारित ‘द्वन्द्वदेखि सहअस्तित्वसम्म’ नामक पुस्तकसमेत विमोचन गरेको छ । ‘श्रम आन्दोलनको परम्पराको संरक्षण, ज्ञान र मानिसबीचको सम्बन्ध स्थापना तथा कामको भविष्यलाई सशक्त बनाउने’ उद्देश्यसहित डिजिटल ज्ञान केन्द्रको नयाँ अध्याय सुरु गरिएको जिफन्टले जनाएको छ ।

अन्तरराष्ट्रिय ट्रेड युनियन महासङ्घ एसिया प्रशान्त क्षेत्र (आइटियूसी-एपी)का महासचिव शोया योशिदाले जिफन्टको यस अभियानको प्रशंसा गर्दै यसले नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले श्रमिकका चाहना फरकफरक भए पनि परस्पर सम्मान र हितका लागि लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्नुपर्ने उल्लेख गर्दै जिफन्टको अभियानले एसियाका मात्र नभई विश्वभरका मजदुर आन्दोलनलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जिफन्टका महासचिव लक्ष्मण शर्माले राष्ट्रिय श्रम स्रोत केन्द्रलाई अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को पुस्तकालयलगायत समान प्रकृतिका ज्ञान केन्द्र, डिजिटल अभिलेखालय तथा अन्तरराष्ट्रिय पुस्तकालयसँग संस्थागत साझेदारी विस्तार गर्ने प्रयाससमेत अघि बढाएको जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.