सम्पादकीय

देश बहुआयामिक संकटको घेरामा

इतिहासमै सबैभन्दा बलियो र शक्तिशाली सरकार बनाएका नेपाली जनताले अन्ततः अस्थिरताकै सामना गर्नु परिरहेको छ । विदेशी शक्तिको चलखेल, सत्तारुढ दलभित्रको गुटबन्दी र फुटवादी प्रवत्ति अनि व्यक्तिगत स्वार्थको टक्करले मुलुक क्षतविक्षतको अवस्थामा पुगेको छ र बहुआयामिक संकटको घेरामा परेको छ । सत्ताधारी नेकपा फुटको संघारबाट फर्किएको भनिएको डेढ महिना नबित्दै अब जुट्नै नसक्ने गरी विभाजनको सन्मुख पुगेको छ । सरकारलाई पार्टीको अंकुश लगाएर असफल बनाउने प्रयास सत्ताधारी दलबाटै भएपछि सरकारले राम्रो काम गरेन भन्नु नै बेकार छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यशक्ति आफूमा केन्द्रिकृत गर्दै गए पनि मुलुकलाई सही दिशामा डोर्याउने र देश तथा जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने कुनै शैली अपनाएको देखिएको छैन । वैदेशिक शक्तिहरूको हस्तक्षेपकारी दवाव सरकारमाथि बढ्दो छ भन्ने आभास भैरहेको छ । संसदभित्रका प्रतिपक्षी दलहरूले सरकारीमाथि दवाव सिर्जना गर्ने हैसियत देखाउन सकेका छैनन् । संसद बाहिरका अनेक नामधारी वामदलहरूले संयुक्त विज्ञप्ति निकाली आन्दोलनको हुँकार गरे पनि त्यसको रुप र गति देखिन बाँकी नै छ । प्रधानमन्त्री ओलीलाई जे जति सकस छ आफ्नै पार्टी भित्रबाट छ । पार्टी सञ्चालनका लागि कार्यकारी अधिकार क. प्रचण्डमा हस्तान्तरण गरिएको भने पनि त्यसको परिणाम देखिएको छैन । यतिबेला प्रचण्ड र माधव नेपाल गुटबनदी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनको तानाबाना बुनिरहेका छन् ।

राजनीतिक, आर्थिक र सामाजिक समस्याहरू दिन प्रतिदिन घनीभूत हुँदै गैरहेकाले मुलुकले निकट भविष्यमै सोच्दै नसोचेको विकराल संकटको सामना गर्नुपर्ने अवस्था सिर्जित हुने भय पैदा भएको छ । कोभिड–१९ का कारण सिर्जित भएको अस्तव्यस्तताले समग्र राष्ट्रिय जीवन आहत भैरहेको छ भने राष्ट्रिय राजनीतिमा झनझन् रन्थमोल बढिरहेको छ । आर्थिक क्षेत्रमा विस्तारित भैरहेका विकराल समस्याहरूले एकातिर सामान्य जनताको दैनिकी पनि चल्नै नसक्ने स्थिति सिर्जना गर्दैगएको छ भने सामाजिक न्याय हराउँदै गएकाले आमनागरिकहरू असुरक्षित र अभिभावकत्वविहीनताको स्थितिले आहत बन्दैगएको अनपेक्षित अवस्थाको बोध विस्तार भएको छ ।

अहिले राज्यसंयन्त्रहरूको परिचालन र प्रयोग जुन ढंगले भैरहेको छ त्यसले जनमानसमा असन्तुष्टि र आक्रोश मात्रै बढाएको छैन घोर निराशा पनि उत्पन्न गराएको छ । सञ्चार माध्यम, सामाजिक सञ्जाल र सडक प्रदर्शनमार्फत सरकारका कामकार्बाही र कथनहरूबारे अभिव्यक्त हुने धारणा, विचार र प्रतिक्रियाहरूलाई जनभावना र देशको अवस्था बुझ्ने आधार मानेर आफ्ना कमिकमजोरी हटाउनेतिरभन्दा पूरै नकारात्मक दृष्टि राखेर हेर्ने, उपेक्षात्मक व्यवहार गर्ने र उदाशिन रहने बढ्दो प्रवृत्तिले सरकारप्रतिको विश्वास गुम्दैगएको र लोकप्रियतामा ठूलो ह्रास आएको वास्तविकता ढाकेर ढाक्नै नसक्ने तहमा पुगेको छ । यस्तो पृष्ठभूमिमा नेपाललाई क्रिडास्थल बनाउन उद्यत वैदेशिक शक्तिहरूले कुन कुन आन्तरिक राजनीतिक एवं गैरराजनीतिक विभिन्न समूहहरूलाई उपयोग गरेर कस्तो बिडम्बनापूर्ण अनपेक्षित स्थिति सिर्जना गर्ने हुन् भन्नेबारे गम्भीर आशंका उत्पन्न हुनथालेको छ ।

एकातिर सरकार जनअपेक्षित कार्यहरु नगर्ने, अर्कोतिर सत्तारुढ दलका नेताहरु आपसमा मारामार गर्ने प्रवृत्तिले मुलुकको सुदूरभविष्यसम्म पार्ने नकारात्मक असरको लेखाजोखा कसैले गरेको पाइँदैन । प्रधानमन्त्री केपी ओलीले मैले प्रधानमन्त्री पदबाट राजीनामा दिए देश बर्वाद हुन्छ भन्नुको तात्विक अर्थ छ । दुई तिहाईको सरकार अल्पायूमै ढल्नु भनेको व्यवस्थाको असफलता हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.