राजनीति

पार्टी र सरकारबीच समन्वयको अभाव छैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको समन्वय अभाव नरहेको बताउनुभएको छ ।

बिहीबार राति सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको उल्लेख गर्नुभयो । पार्टी र सरकारका कामकारबाहीमा आवश्यकताअनुसार छलफल, सुझाव र स्पष्टता खोज्ने अभ्यासलाई असमझदारीका रूपमा बुझ्न नहुने उहाँको भनाइ थियो ।

सभापति लामिछानेले भन्नुभयो, “समन्वयको कुनै पनि कमी छैन । खाली एउटै चिज के भने, सरकारलाई मजाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो ।”

सभापति लामिछानेले विगतमा सरकार टिकाउन र पार्टीभित्र एकता कायम राख्न प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई राखेर काम गर्ने अभ्यास आफ्नो पार्टीले नगरेको स्पष्ट पार्नुभयो । पार्टी र सरकारले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्ने उहाँको भनाइ थियो ।

“हामी राजनीतिमा त्यो अभ्यासको पक्षमा छैनौँ, जतिखेर सरकारै टिकाइराख्नका लागि, पार्टीमा एकता नै कायम गर्नका लागि, छेउमा प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राख्ने, त्यस्तो किसिमको अभ्यासमा हामी छैनौँ”, सभापति लामिछानेले भन्नुभयो ।

सरकारका निर्णयमा प्रश्न उठेमा पार्टीले स्पष्टता माग्नु स्वाभाविक भएको उल्लेख गर्दै उहाँले पार्टीले सरकारका सबै निर्णयमा होमा हो मिलाउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

सरकारले गरेका निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हुने उहाँको भनाइ थियो । प्रहरी महानिरीक्षक (आइजिपी) को जिम्मेवारी हेरफेरलगायत विषयमा पार्टीले सरकारसँग स्पष्टता मागेको प्रसङ्गमा सभापति लामिछानेले सुरक्षा निकायसँग सम्बन्धित निर्णय संवेदनशील हुने भएकाले सरकारले समय आएपछि त्यसको औचित्य पुष्टि गर्ने बताउनुभयो ।

“पार्टीले कुनै पनि सरकारले काम गर्नका लागि आवश्यकपर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ”, उहाँले भन्नुभयो ।

सरकारका कामकारबाहीमा सुधारको आवश्यकता देखिए पार्टीले खबरदारी गर्ने उल्लेख गर्दै सभापति लामिछानेले त्यसलाई सरकार र पार्टीबीचको विवादका रूपमा व्याख्या नगर्न आग्रह गर्नुभयो ।

लोकतन्त्रका मूल्य र मान्यताप्रति पार्टी स्पष्ट रहेको बताउँदै उहाँले आवश्यक पर्दा सरकारलाई सही बाटोमा ल्याउन पार्टीले भूमिका खेल्ने बताउनुभयो ।

राज्यका निकायलाई संविधान र कानुनले दिएको अधिकार सही ढङ्गले प्रयोग गर्न दिनुपर्ने बताउँदै सभापति लामिछानेले अनुसन्धानका विषयमा संस्थागत प्रक्रियामाथि विश्वास गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रहरी प्रशासन, अदालत, प्रेस काउन्सिल तथा मानवअधिकार आयोगजस्ता संस्थालाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै उहाँले कुनै निकायबाट गलत काम भए त्यसलाई सच्याउने संस्थागत व्यवस्था रहेको बताउनुभयो ।

सरकार र पार्टीबीचको सम्बन्धबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा सभापति लामिछानेले पार्टीले सरकारलाई काम गर्न दिने र आवश्यकताअनुसार सुझाव तथा खबरदारी गर्ने अभ्यासलाई सकारात्मक रूपमा लिन आग्रह गर्नुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.