भाषा/साहित्य

विकल स्मृति दिवसमा ठाकुर शर्मासहित आधादर्जन स्रष्टा सम्मानित हुने

रमेश विकल साहित्य प्रतिष्ठानले २०८३ सालका लागि रमेश विकलका नाममा स्थापित विभिन्न छ विधाका पुरस्कारबाट सम्मानित हुने स्रष्टा तथा संस्थाको नाम घोषणा गरेको छ। प्रतिष्ठानले आगामी पुस ४ गते विकल स्मृति दिवसका अवसरमा उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ।

पुरस्तकृत व्यक्तित्वहरु क्रमशः ठाकुर शर्मा भण्डारी, प्रेमचन्द्र अदुवा श्रेष्ठ, देविका तिमल्सिना, शैलेन्दु प्रकाश नेपाल, अन्जली मास्के, नारायण भण्डारी (एन बि जनकपुरी)

पुरस्कारका लागि स्रष्टा तथा संस्था छनोट गर्न प्रतिष्ठानका कार्यसमिति सदस्य महेन्द्र चालिसेको संयोजकत्वमा पुरस्कार सिफारिस समिति गठन गरिएको थियो। समितिमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त र साहित्यकार पवन आलोक सदस्य रहनुभएको थियो।

विभिन्न स्रोतबाट प्राप्त सुझावका आधारमा समितिले गरेको सिफारिसलाई प्रतिष्ठानको कार्यसमितिले अनुमोदन गरेपछि पुरस्कार प्राप्त गर्नेहरूको नाम सार्वजनिक गरिएको हो।

प्रतिष्ठानका अनुसार यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिनेछ। त्यस्तै, रमेश विकल–सुशीला समाजसेवा पुरस्कार बोडेस्थित ध्योमा जगत वृद्धाश्रम तथा प्रेमचन्द्र अदुवा श्रेष्ठलाई प्रदान गरिने भएको छ।

यसैगरी, रमेश विकल सिर्जना पुरस्कार देविका तिमल्सिना, रमेश विकल बाल साहित्य पुरस्कार शैलेन्दु प्रकाश नेपाल र रमेश विकल–सुशीला संघर्षशील नारी पुरस्कार अञ्जली मास्के (सामूहिक भाइटीका लगाइदिने अञ्जली दिदी) लाई प्रदान गरिनेछ।

त्यसैगरी, रमेश विकल कला–संगीत पुरस्कार नारायण भण्डारी (एनबी जनकपुरी) लाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

साहित्यकार रमेश विकलको साहित्यिक योगदान तथा सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतिष्ठानले उहाँका नाममा विभिन्न विधाका पुरस्कार स्थापना गरी प्रत्येक वर्ष विकल स्मृति दिवसका अवसरमा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.