भाषा/साहित्य

विकलको साहित्यिक योगदानको स्मरण गर्दै ९९औँ जयन्ती मनाइयो

नेपाली भाषा साहित्यमा आख्यान विधाका प्रसिद्ध साहित्यकार रमेश विकलको ९९औँ जन्मजयन्ती मनाइएको छ । कार्तिक २४ गते, मङ्गलबार आरुबारीस्थित रमेश विकल साहित्य प्रतिष्ठानको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरिएको हो ।

गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्यमा सभा आयोजना गरिएको थियोभने त्यसअघि आरुबारीस्थित विकल चोकमा रहेको रमेश विकलको अर्धकदको प्रतिमामा माल्यार्पण गरी गरिएको थियो।

रमेश विकल साहित्य प्रतिष्ठानमा आयोजित संक्षिप्त स्मृतिसभामा प्रमुख अथिति रिसालले लेखकले समाजको विश्लेषण गरेर कृतिमार्फत आफ्नो योगदान छाड्ने र सरकारले त्यस्ता साहित्यिक सम्पत्तिको अभिलेखीकरणमा सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले साहित्यकार रमेश विकलको योगदान र आफूसँग उहाँको रहेको निकट सम्बन्धबारे चर्चा गर्नुभयो।

नगरप्रमुख रिसालले गोकर्णेश्वर नगरपालिकाले रमेश विकलका ५२ कृति तथा विभिन्न स्थानमा छरिएर रहेका फुटकर रचनासमेत समेटेर ‘रमेश विकल समग्र’ शीर्षकमा सात खण्डमा सम्पूर्ण कृति र रचनाको एकीकृत अभिलेखीकरण गर्ने महत्त्वाकाङ्क्षी योजना अघि बढाएको जानकारी दिनुभयो। उहाँका अनुसार उक्त योजनाको अन्तिम खण्ड प्रकाशनको चरणमा पुगेको छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा र साहित्यकार रमेश विकलको तस्बिरमा माल्यार्पण गर्दै सुरु भएको स्मृतिसभामा भाषा आयोगका सदस्य मातृका पोखरेलले प्रमुख वक्ताका रूपमा मन्तव्य राख्नुभएको थियो।

उहाँले समाजका भुइँमान्छे र उनीहरूले भोग्नुपरेका उत्पीडनलाई केन्द्रमा राखेर प्रगतिशील लेखनमा विशिष्ट उचाइ हासिल गर्न रमेश विकल सफल हुनुभएको बताउनुभयो।

पोखरेलले प्रगतिशील लेखक सङ्घले यस वर्षदेखि शक्ति लम्सालको स्मृतिमा स्थापना गरेको पुरस्कार दिवङ्गत साहित्यकार रमेश विकललाई प्रदान गर्न लागेको जानकारीसमेत गराउनुभयो।

कार्यक्रमको सभापतित्व गर्नुभएका रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले विकलसँगको आफ्नो कलाक्षेत्रको सामीप्य, प्रतिष्ठानको स्थापनाकालदेखि उहाँले पुर्‍याउनुभएको योगदान तथा उहाँका बहुआयामिक प्रतिभाको स्मरण गर्नुभयो। उहाँले कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष शाम्बकुमार चालिसेले स्वागत मन्तव्य राख्नुभएको थियो भने आलोक चालिसेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। समारोहमा साहित्यकार, प्राध्यापक, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.