राजनीति

जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता

नेपाल र भारतले संयुक्तरूपमा जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली क्षेत्रको संरक्षण तथा जैविक विविधता जोगाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्ताल्यामा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो ।

भेटमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जोखिम, विपद् व्यवस्थापन, वन संरक्षण, जलवायु वित्त तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

त्यसअवसरमा नेपालले हिमालय क्षेत्रसम्बन्धी कार्ययोजना र स्थायी एजेन्डा कोप–३१ को निर्णयमा समावेश गर्न भारतको समर्थन माग गरेको थियो । साथै, जलवायु विज्ञान, पूर्वसूचना प्रणाली, अनुकूलन र वित्तीय सहयोगमा सहकार्य विस्तार गर्न मन्त्री चौधरीले आग्रह गर्नुभएको थियो ।

उहाँले जलवायुजन्य हानि तथा नोक्सानीसम्बन्धी कोषबाट प्रभावित देशलाई शीघ्र सहयोग उपलब्ध गराउने संयन्त्र स्थापना गर्न पनि भारतको समर्थन माग गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाको ८१औँ अधिवेशनमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सन् २०२६ को सेप्टेम्बरमा औपचारिक रूपमा प्रस्ताव गर्नुभएको ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्ने प्रस्तावलाई कार्यान्वयनमा ल्याउन भारतको सहयोग र समर्थनका लागि आग्रह गरिएको थियो ।

भेटमा अवैध वन्यजन्तु व्यापार तथा चोरीसिकार नियन्त्रण, सीमापार वन्यजन्तु आवागमन क्षेत्रको संरक्षण र दिगो वन व्यवस्थापनमा प्राविधिक सहयोग तथा ज्ञान आदानप्रदान बढाउने विषयमा समेत छलफल भएको थियो ।

मन्त्री चौधरीले आगामी वर्ष आयोजना हुने दोस्रो सगरमाथा संवादमा सहभागी हुन भारतीय मन्त्रीलाई निमन्त्रणा दिनुभएको थियो । भारतीय मन्त्री यादवले सो संवादमा आउने विषयमा आफू सकारात्मक रहेको बताउनुभएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

दुवै पक्षले जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.