जल/वातावरण

कोप–३३ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी) का कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी लक्ष्य कार्यान्वयनका लागि आगामी दुई वर्ष निर्णायक हुने बताउनुभएको छ ।

कोप–३१ अन्तर्गत बुधबार दोस्रो विश्वव्यापी जलवायु समीक्षा (ग्लोबल स्टकटक) प्रक्रिया शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोप–३३ सम्म महत्वाकाङ्क्षी नतिजा हासिल गर्न राजनीतिक सहमति, अन्तरराष्ट्रिय सहयोग र व्यावहारिक कार्यान्वयनमा जोड दिनुभएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।

उहाँले पहिलो विश्वव्यापी समीक्षामा सहमति भएका लक्ष्य कार्यान्वयनलाई तीव्रता दिन, वैज्ञानिक प्रमाण तथा तथ्याङ्क सङ्कलन गर्न र सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

पहिलो विश्वव्यापी समीक्षाका निष्कर्षलाई ९० प्रतिशत पक्ष राष्ट्रले आफ्ना राष्ट्रिय जलवायु योजनामा समावेश गरिसकेको उल्लेख गर्दै उहाँले अब प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

पहिलो समीक्षामा सन् २०३० सम्म विश्वव्यापी नवीकरणीय ऊर्जा क्षमता तीन गुणा बढाउने, ऊर्जा दक्षता दोब्बर बनाउने तथा जीवाश्म इन्धनबाट न्यायोचित, व्यवस्थित र समतामूलक रूपमा बाहिरिने सहमति भएको उहाँले स्मरण गराउनुभयो ।

त्यसैगरी, जलवायु अनुकूलनका योजना कार्यान्वयन गर्ने तथा जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि सहयोग विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।

दोस्रो विश्वव्यापी समीक्षा प्रभावकारी बनाउन जलवायु विज्ञानका साथै आर्थिक, सामाजिक र विकाससम्बन्धी प्रमाणलाई आधार बनाउनुपर्ने उल्लेख गर्दै उहाँले लगानी तथा प्रविधिको अवस्था र निजी क्षेत्र, आदिवासी जनजाति, स्थानीय समुदाय तथा नागरिक समाजका अनुभव समेट्नुपर्ने बताउनुभयो ।

उहाँले पक्ष राष्ट्र र गैरपक्ष राष्ट्र सबैको सहभागितामा समीक्षा प्रक्रियालाई समावेशी र विश्वव्यापी बनाउन आग्रह गर्नुभएको सचिवालयले जनाएको छ । अहिले सुरु भएको सूचना तथा तथ्याङ्क सङ्कलनको गुणस्तरले आगामी वर्ष हुने मूल्याङ्कनको प्रभावकारिता निर्धारण गर्ने उहाँले बताउनुभयो । “भूराजनीतिक चुनौती गम्भीर छन्, तर महत्वाकाङ्क्षी नतिजा हासिल गर्न सम्भव छ,” उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय प्रयास वार्ताबाट तयार हुने दस्तावेजमा मात्र सीमित नभई मानिसले सास फेर्ने हावा, जीविकोपार्जन र समुदायको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै उहाँले यस प्रक्रियामा प्रत्येक व्यक्ति र समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.