उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
तनहुँको व्यास नगरपालिका–१३ छापडाँडा भञ्ज्याङस्थित बेनीकोटलाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका रूपमा विकास गरिने भएको छ । कृषि तथा पर्यटन प्रवद्र्धनमार्फत स्थानीय समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित यहाँ रु एक करोड ५० लाख बराबरको परियोजना सञ्चालन हुन लागेको हो ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ बेनीकोट (कृषि तथा पर्यटन प्रवद्र्धन परियोजना)’ सञ्चालन हुन लागेको हो ।
परियोजनामा गण्डकी प्रदेश सरकारले ७५ प्रतिशत अर्थात् रु एक करोड १२ लाख ५० हजार र व्यास नगरपालिकाले २५ प्रतिशत अर्थात् रु ३७ लाख ५० हजार लगानी गर्नेछन् ।
परियोजना विसं २०८३ कात्तिक १६ गतेदेखि सुरु भई २०८४ जेठ ३० गतेसम्म सञ्चालन हुने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।
परियोजनामार्फत बेनीकोटको भौतिक पूर्वाधार विकाससँगै स्थानीय मौलिक कला, संस्कृति, परम्परागत पेसा, कृषि उत्पादन र पर्यटनलाई एकीकृत रूपमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
स्थानीय समुदायको सीप, ज्ञान र पहिचानलाई आर्थिक गतिविधिसँग जोडेर गाउँमै रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्ने योजना परियोजनामा समेटिएको छ ।
पूर्वाधार निर्माणदेखि पाहुना घरसम्म
परियोजनाअन्तर्गत बेनीकोटमा पर्यटकको आवागमन सहज बनाउने र बसाइलाई व्यवस्थित गर्ने उद्देश्यले स्टोन ट्रेल निर्माण गरिनेछ । त्यस्तै पाहुना घर निर्माण गर्ने तथा कालो सुँगुरको खोर व्यवस्थापन र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।
स्टोन ट्रेल र पाहुना घर निर्माणले गाउँमा आउने पर्यटकलाई सहज आवागमन तथा बसोबासको सुविधा उपलब्ध गराउने छ । स्थानीय मौलिकता झल्किने संरचना निर्माणसँगै गाउँको पहिचानलाई पर्यटनसँग जोड्ने लक्ष्य राखिएको छ ।
परम्परागत पेसा र सीपलाई उद्यमसँग जोडिने
लम्सालका अनुसार परियोजनाको अर्को महत्वपूर्ण पक्ष स्थानीय समुदायको परम्परागत पेसा तथा सीप संरक्षण र प्रवद्र्धन हो । यसअन्तर्गत सामुदायिक वनमा बाँस खेती विस्तार गरिनेछ । भुजेल समुदायको परम्परागत पेसा संरक्षण गर्दै बाँसबाट हस्तकलाका सामग्री निर्माण गर्ने कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
त्यस्तै, दलित समुदायको परम्परागत पेसा संरक्षण तथा प्रवद्र्धन र व्यावसायिक मौरीपालनलाई परियोजनामा समेटिएको छ । स्थानीय सीप र स्रोतसाधनको उपयोग गरी उत्पादनमूलक उद्यम विकास गर्ने लक्ष्य राखिएको छ । मौरीपालनमार्फत कृषि तथा पर्यटनसँगै स्थानीय उत्पादनको अर्को आम्दानीको स्रोत विकास गर्ने योजना छ ।
मौलिक संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड
बेनीकोटलाई सांस्कृतिक गाउँका रूपमा स्थापित गर्न पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । पर्यटकलाई स्वागत तथा सेवा प्रदान गर्ने आतिथ्यतासम्बन्धी सीप विकास, घरबासको स्तरीकरण र मौलिक कला तथा संस्कृतिको संरक्षण परियोजनाका प्रमुख कार्यक्रम रहेको वडाध्यक्ष वसन्तबहादुर आलेले बताउनुभयो ।
यसैगरी, स्थानीय सङ्ग्रहालय व्यवस्थापन, मगर समुदायको पहिचान, वेशभूषा तथा सांस्कृतिक पक्षको संरक्षण र प्रचारप्रसारलाई प्राथमिकता दिइनेछ । गाउँको सरसफाइ तथा पर्यटकीय वातावरण सुधारका कार्यक्रम पनि सञ्चालन गरिनेछ ।
कृषि प्रवद्र्धनतर्फ ड्रागन खेती विस्तार, स्थानीय रैथाने बाली संरक्षण तथा सिँचाइ व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिनेछन् । स्थानीय भूगोल र सम्भावनाअनुसार कृषि उत्पादनलाई प्रोत्साहन गर्दै व्यावसायिक खेतीको विस्तार गर्ने लक्ष्य राखिएको छ ।
स्थानीय स्रोत, सीप र पहिचानको उपयोग गर्ने लक्ष्य
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले परियोजनामार्फत बेनीकोटको कृषि, पर्यटन, संस्कृति र स्थानीय उद्यमलाई एकीकृत रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । स्थानीय स्रोत साधन र मौलिक पहिचानको उपयोग गरी गाउँको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्य रहेको उहाँको भनाइ छ ।
उहाँले बेनीकोटको मौलिक पहिचान, संस्कृति र स्थानीय सम्भावनालाई संरक्षण गर्दै आर्थिक गतिविधिसँग जोड्न परियोजनाले सहयोग पुर्याउने बताउनुभयो । स्थानीय समुदायको परम्परागत सीप, कृषि र पर्यटनलाई एकैसाथ प्रवद्र्धन गर्न सके गाउँको विकाससँगै स्थानीयको आयआर्जनमा पनि सुधार आउने उहाँको अपेक्षा छ ।(रासस)




प्रतिक्रिया राख्नुहोस्