दल त्यागेको भन्दै जिसस प्रमुखसहित आठ जनप्रतिनिधि पदमुक्त
दल त्याग गरेको भन्दै निर्वाचन आयोगले जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईसहित जिल्लाका आठ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको छ ।
जनता समाजवादी पार्टीको केन्द्रीय समितिले दल त्याग गरेको जानकारी निर्वाचन आयोगलाई गराएपछि आयोगले मङ्सिर २ गते गरेको निर्णयअनुसार उनीहरू पदमुक्त भएका हुन् ।
आयोगले मङ्सिर ३ गते प्रकाशित गरेको सूचनामा जिसस प्रमुख राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, वडासदस्य कल्पना राई, दलित महिला सदस्य गीता विश्वकर्मा, वडासदस्य रामधन राई र सहरमणि राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नाल पदमुक्त भएको उल्लेख छ ।
पदमुक्त भएका जिसस प्रमुख सनबहादुर राई हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । जनता समाजवादी पार्टीबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गुरुराज र वडाध्यक्ष मुगाधन श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ भने नगर कार्यपालिका सदस्य दर्नाल अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा आबद्ध हुनुहुन्छ ।
पाथेकाका वडासदस्य सहरमणि र कल्पना तत्कालीन नेकपा (माओवादी केन्द्र) तथा रामधन नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित हुनुभएको थियो । स्थानीय तह निर्वाचनमा दलहरूबीच भएको तालमेलका क्रममा जनता समाजवादी पार्टीको चुनाव चिह्नबाट उम्मेदवारी दिएकाले उहाँहरूको पदसमेत गएको जनाइएको छ ।
वडाका सबै जनप्रतिनिधि पदमुक्त भएपछि पाथेका जनप्रतिनिधिविहीन बनेको छ । जनप्रतिनिधि नभएको र उपनिर्वाचनको सम्भावना नरहेको अवस्थामा कर्मचारीबाटै वडाको कामकाज सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरले जानकारी दिनुभयो ।
यसअघि जिल्लाका अन्य स्थानीय तहका पाँच जना जनप्रतिनिधि पनि पदमुक्त भइसकेका छन् । बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भूबलराज राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राई, केपिलासगढी गाउँपालिका–३ बास्पानीका वडाध्यक्ष तुलाराज राई, खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका वडाध्यक्ष जेफर राई र खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका वडा सदस्य प्रदीप आचार्य पदमुक्त हुनुभएको हो ।
भूबलराज, तुलाराज, दिनेश र जेफर श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको थियो । भूबलराज र तुलाराज नेकपा (एकीकृत समाजवादी), जेफर नेपाली कांग्रेस र दिनेश नेकपा (एमाले)बाट निर्वाचित हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएका प्रदीप आचार्य एमालेबाट निर्वाचित हुनुभएको थियो ।
पदमुक्त भएका वडाध्यक्षहरूको ठाउँमा सम्बन्धित वडाका ज्येष्ठ सदस्यलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर काम सुरु गरिएको सम्बन्धित राजनीतिक दलले जनाएका छन् । यससँगै विसं २०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित भई पदमुक्त हुने खोटाङका जनप्रतिनिधिको सङ्ख्या १३ पुगेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार दल त्याग गरेको ठहर भएमा निर्वाचन आयोगले जनप्रतिनिधिलाई पदमुक्त गर्न सक्ने व्यवस्था छ ।
सम्बन्धित दलले आफ्नो नीति, सिद्धान्त र निर्णयविपरीत दल त्याग गरेको दाबीसहित आयोगमा सिफारिस गरेपछि आयोगले कारबाही गरेको हो ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह र ७९ वडा रहेको खोटाङमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र एमालेले छ तथा तत्कालीन नेकपा (माओवादी केन्द्र) र अन्य दलले बाँकी स्थानीय तहमा नेतृत्व जितेको थियो ।(रासस)




प्रतिक्रिया राख्नुहोस्