मधेसबारे गम्भीर भएर विचार गर्न अध्यक्ष ओलीलाई योगेशको आग्रह
नेकपा एमालेका नेता योगेश भट्टराईले मधेसबारे गम्भीर भएर विचार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै भट्टराईले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले बुधबार बाराको सिमरामा जेनजी युवासँग एमाले कार्यकर्ताहरुको झडप भएको, मधेश प्रदेश प्रमुख बर्खास्तमा परेको, मधेशकै सभामुख पदमुक्त भएको र मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा मुद्दा परेको लगायतका घटनाको सन्दर्भमा भट्टराईले गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभएको छ ।
त्यस्तै नेता भट्टराईले पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, पार्टीको सामाजिक छवीलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ अघि बढ्नु पर्ने सुझाव दिनुभएको छ ।
भट्टराईले फेसबुकमा लेख्नुभएको छ, ‘पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ गर्न, पार्टीको सामाजिक छवीलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’
भट्टराईले फेसबुकमा थप लेख्नुभएको छ, प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ) । मुख्यमन्त्री पद अदालतको कठघरामा छ । राजनीतिक रूपमा हामी एक्लिएका छौं । पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ । यो सबै किन र कस्का कारणले भयो ? मधेसमा स्वयम् पार्टी अध्यक्षले गर्नु भएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनु पर्दछ ।’




प्रतिक्रिया राख्नुहोस्