तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दाहरुमा आफूविरुद्ध परेका रिट निवेदनहरुको लिखित जवाफ पठाउनुभएको छ ।
जवाफमा ओलीले प्रधानमन्त्री शुसीला कार्कीको नामै किटेर भदौ २४ मा अराजकता मच्चाउनेहरुले नै अहिले राज्यसत्ता कब्जा गरेको आरोप लगाउनुभएको छ ।
अध्यक्ष ओलीले लिखित जवाफमा भन्नुभएको छ, “अराजक अवस्थाको सृजना गराई सुशिला कार्की तथा उनको मन्त्रिमण्डलका सदस्यहरुले राज्यसत्ता कव्जा गर्ने दृष्य/अदृष्य काम गरेको कुरा श्रृजित घटनाक्रमवाट पुष्टि भएको छ । अराजक अवस्थाका लाभग्राही नै यस अवस्था सृजनाकर्ता हुन् ।”
अनलाइन खबरमा छापिएको विवरण अनुसार जवाफमा तत्कालीन प्रधानमन्त्री ओलीले संविधानलाई उल्लंघन गरी अराजकताको जगमा सरकार गठन हुन सक्दैन भन्दै संविधानले वालिग मताधिकारको माध्यमवाट आवधिक निर्वाचन मार्फत मात्र सरकार परिवर्तन गर्ने अधिकार दिएको बताउनुभएको छ ।
उहाँले यसअघि आफू दुई तिहाई बहुमत प्रप्त सरकारको नेतृत्वमा रहँदा दुईपटक संसद विघटनको सिफारिश गरेको कुरा बिर्सदै निर्वाचन बाहेक अन्य कुनै दवाव वा प्रभावको माध्यमवाट सरकारलाई अपदस्त गर्न वा मतादेश विहिन व्यक्तिले सरकार सञ्चालन गर्न नमिल्ने दावी गर्नुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्