कठोर सर्तसहित युक्रेनलाई अमेरिकाको शान्ति प्रस्ताव
युक्रेनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेको नयाँ शान्ति प्रस्तावमा अत्यन्तै संवेदनशील र कठोर सर्तहरू समावेश गरिएका छन् ।
प्रस्तावमा किएभलाई रूसी नियन्त्रणमा रहेका केही भूभाग हस्तान्तरण गर्नुपर्ने र आफ्नो सेनाको आकारलाई आधाभन्दा बढी कटौती गर्नुपर्ने उल्लेख गरिएको छ ।
उक्त विवरणबारे जानकारी राख्ने एक वरिष्ठ अधिकारीले एएफपीसँग बुधबार कुरा गर्दै यस्तो प्रस्ताव युक्रेनले विगतमा बारम्बार अस्वीकार गर्दै आएको रुसका अधिकतम मागहरूसँग मिल्दोजुल्दो रहेको बताउनुभयो ।
उक्त प्रस्तावित मस्यौदामा ‘क्रिमिया तथा रूसी सेनाद्वारा कब्जा गरिएका अन्य क्षेत्रहरूको मान्यता’ प्रदान गर्नुपर्ने र ‘सेनाको सङ्ख्या चार लाखमा सीमित गर्ने’ व्यवस्था गरिएको स्रोतले बताएको छ ।
साथै, युक्रेनले किएभका लागि अत्यन्तै संवेदनशील र जोखिमपूर्ण मानिने आफ्ना सबै लामो दूरीका हतियार त्याग्नुपर्ने शर्त पनि समावेश गरिएको छ ।
अधिकारीका अनुसार यो वास्तवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै धारणा हो कि उहाँको दलको आधिकारिक नीति हो भन्ने विषय भने स्पष्ट छैन । प्रस्तावका बदलामा रुसले के कदम चाल्नेछ भन्ने विषय ‘अस्पष्ट’ रहेको स्रोतले बतायो ।
अमेरिकी सञ्चार माध्यम एक्सियोसले यसअघि वासिङ्टन र मस्कोबीच करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने गोप्य योजना तयार भइरहेको उल्लेख गरेको थियो ।
सो रिपोर्टबारे क्रेमलिनले हालसम्म कुनै टिप्पणी गर्न अस्वीकार गर्दै शान्ति प्रक्रियामा नयाँ प्रगति नभएको मात्र दोहो¥याएको छ । एएफपीले यस विषयमा ह्वाइट हाउससँग पनि टिप्पणीका लागि सम्पर्क गरेको छ ।
रुसले अहिले युक्रेनको करिब २० प्रतिशत भाग कब्जामा राखेको छ, जसको ठूलो हिस्सा निरन्तरको भीषण युद्धले नष्ट भएको छ । मस्कोले दक्षिणी तथा पूर्वी युक्रेनमा आफ्नो नियन्त्रण कायम राख्नुपर्ने तथा किएभले थप भूभाग हस्तान्तरण गर्नुपर्ने माग निरन्तर दोहो¥याउँदै आएको छ ।
सन् २०२२ मा रुसले डोनेट्स्क, लुगान्स्क, जापोरिझिया र खेरसन गरी चार युक्रेनी क्षेत्र कब्जा गरेको थियो । यद्यपि ती क्षेत्रहरूमा मस्कोको पूर्ण नियन्त्रण छैन । यद्यपि क्रिमियन प्रायद्वीप भने रुसले सन् २०१४ मै आत्मसात् गरी त्यसयतैदेखि पूर्ण नियन्त्रणमा राख्दै आएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धलाई युद्ध अन्त्यका लागि उपयोग गर्न खोज्दै आउनुभएको छ ।
तर अहिलेसम्म कुनै ठोस प्रगति देखिएको छैन । युक्रेन युद्धबारे ट्रम्पको धारणा पनि समयानुसार लगातार परिवर्तन हुँदै आएको विश्लेषकहरूको भनाइ छ ।





प्रतिक्रिया राख्नुहोस्