“शून्यमा शून्य सरी हराएका”हरुको कथा–व्यथा
अघिल्लोपटक “चोलेन्द्र श. राणा विरुद्ध बेञ्च–वारको द्वन्द्व र निकास ?” शीर्षक दिएर जुन लेखिएको थियो, त्यस उपर धेरै विरोधाभासी प्रतिक्रिया आए । कतिपयले “हिजो जुन नेकाले आफ्नो खाँटी हिमायती ठानेर सुशीला कार्कीलाई सर्वोच्चमा पुर्यायो, प्रधान न्यायाधीश बनायो, त्यही ने.का.ले “लोकमानसिंह कार्की जस्ता, चरम भ्रष्ट, परम बद्नाम, खुलेयाम डकैत र व्ल्याकमेल गरेर देशको शासन, प्रशासन र सुशासनको चीरहरण गर्नेको संविधानले नै तोकेको, न्यूनतम योग्यता नपुगेकोले निजको नियुक्ति प्रारम्भतः शून्यीकृत हुनुपर्ने” भन्ने रीट जुन पर्यो । निज लोकमान सिंहले रीटमा उल्लेख भएका तथ्य खण्डन गर्नसक्ने तथ्यपूर्ण प्रमाण पेश गर्न सकेनन् । प्रन्या सुशीला कार्की समेतको वेञ्चले रीट स्वीकृत नगर्ने आधार पाएन । लोकमानको प्रमुख आयुक्त पदमा भएको नियुक्ति शून्यीकृत (भ्वाइड) गर्ने ठहर गर्नुको विकल्प थिएन, स्वीकृत गरिन् ।

त्यही मूल विषयलाई समाएर ने.का.ले संसदमा त्यत्रो कोहलो मच्चाइदियो । त्यति मात्र होइन, उपेन्द्र यादवको शब्दमा भन्ने हो भने “महाभियोगको व्रह्मास्त्र” नै प्रयोग गर्ने “कायरतापूर्ण बहादुरी” देखायो । इमान्दारीपूर्वक भन्ने हो भने सुशीला कार्की दाम, काम र संवैधानिक आयोगमा भाग खोज्ने, दलगत आडवलमा सर्वोच्च पुगेर पनि दलीय पक्षग्राहिता नदेखाई स्वतन्त्रता, निस्पक्षता र तटस्थताको न्यायिक नैतिकता परिपालन भे गरेकी थिइन् ।
तर त्यही ने.का.को नेतृत्वको संयुक्त सरकार आज अरु त अरु उनकै (चोलेन्द्रकै) सारा सहकर्मी सर्वोच्चका न्यायधीश, वार एशोसिएशनमा आवद्ध भए नभएका झण्डै बीसौँ हजार कानून व्यवसायी र पूर्ववर्ती प्रधानन्यायाधीशहरुबाट एक स्वरले सर्वोच्च न्याय मन्दिरदेखि तलका तहका सम्पूर्ण न्याय मन्दिरसम्ममा “सीमान्त भ्रष्ट, निकृष्ट, अनैतिक वल्याकमेलर, सर्वोच्च न्याय मन्दिरको उच्चतम न्यायकर्ताको पदमा पुगेर न्याय निशाफ– इन्शाफ दिनुपर्ने व्यक्तिले नै दलाल, विचौलिया, एजेन्ट मार्फत अपारदर्शी तौरतरिकाबाट फैसला बेचुवा” जस्ता अपमानजनक तरिकाले राजिनामा मागि कोहलो मच्चाई, मेची–महाकालीसम्मका सबै तहका न्यायमन्दिर हल्लाउँदा सर्वोच्च अदालतसँग साँध जोडिएको सिंहदरभित्रका शासन सत्तानियन्तादेखि प्रमुख प्रतिपक्षी दलहरुसम्म कुनैको निद्रा नखुलेको जस्तो देखियो किन ?
त्यस विषयलाई नछोएको किन भने अहिले देशको कार्यपालिका, न्यायपालिका, विधायिका, सबैतिर क्रिया शून्यता र स्तब्धता व्याप्त छ । संविधान र संविधानवादको भावना, मूल्य, मान्यता माथि जो जति शक्तिशाली छ उस्ले उति नै बढी खुलेयाम निर्ममता, निर्लज्जता र निर्भयतापूर्वक आक्रमण र पटक पटक बलात्कार गरिरहेको छ । त्यो सम्पूर्ण परिवेश, परिदृश्यलाई आमजनताले मात्र नभई सीमा बाहिरको नेपाली र नेपालबारे चासो राख्ने र चिन्ता गर्ने सबैले निरीहता पूर्वक नियालि रहेका रहेछन् ।
केही दिन पहिले आजको सम्पन्न र विकसित मुलुकमा बस्दै आएका केही आफन्तसँग फोनमा कुरा गर्दैगर्दा सोधेको थिएँ– “त्यत्रो उच्च ज्ञान, सीप, अध्ययन सबै विदेशकै लागि हो कि, आफ्नो देशको समृद्धि समुन्नतिका लागि योगदान गर्ने सोचाई पनि छ ?” प्रायः सबैको शैली र शब्द फरक भए पनि धेरैले वडो मार्मिक भएर जे भने त्यो उनीहरुको मनमस्तिष्क, मुटुभित्रको पीर–पीडा कथा–व्यथा थियो । त्यो सबै सुनेपछि स्वदेश फर्कियुन भन्दै संझाउन खोज्ने आफूलाई नै “मेरो सोच गलत रहेछ, उनीहरुमात्र नभई उनका शाखा सन्तान किन उतै नबसेर नेपाल फर्किने ?” भन्ने अनुत्तरित प्रश्न गर्दै आफ्नै प्रश्नको गोल चक्करमा फँसेको अनुभव गरें ।
हुन पनि “देशमा राज्य व्यवस्था राम्रो आउला, आफुले नभए, भोग्नै नपाए पनि परिवर्तनको उज्यालोमा आफ्ना सन्तानले स्वतन्त्र, भएर आफ्नो उन्नति प्रगति गर्न पाउने छन्” भन्ने आशा, विश्वास र भरोसा बोकेर जसका बाबु बाजेले लड्दै सात दशकमा झण्डै सात किसिमका शासन प्रणाली, सातवटा संविधान ल्याए, आखिर उनका सन्तानको समुन्नति समृद्धिको नाममा देश हाँक्नेहरुले के दिए ? प्रकृतिले यो देशलाई उन्नति, प्रगति, समुन्नतिका लागि के कुरा दिएको छैन ?
तर आजको “लथालिङ्ग देशको भताभुङ्ग चाला, जस जसले पाउला उसैले खाला” उक्ति बन्यो । त्यसको जिम्मेदार को ? देशका तथाकथित स्वतन्त्र बुद्धीजिवी, राजनीतिक पेशा, व्यावसायी नागरिक समाज जस्ता सबैले “आफूले नभई उस्ले देशलाई आजको दुर्दशा भोग्नुपर्ने स्थितिमा पुर्याएको” भन्दै अन्ततोगत्वा आममतदाताको बुद्धि, विवेक र निर्णय क्षमतामाथि सम्पूर्ण दोष थोपरेर उम्किएको देख्दै सुन्दै गर्नुभयो र त्यही निष्कर्षमा पुग्नुपर्ने भएको परिस्थति परिवेशको दृश्य देखा पर्यो ।
त्यसबाट पाउने स्पष्ट सन्देश भनेको “वर्तमानमा सबैको घृणा र प्रहार केन्द्र भलै चोलेन्द्रलाई बनाइएको किन नहोस्, त्यो आजको शासन प्रशासनले जन्माए, हुर्काएर बढाएको विकृति, विसंगतिको एउटा प्रतीक वा प्रतिकृति मात्रै चोलेन्द्र सामु हुने हो भन्ने नै हो । त्यसरी हेर्दा चोलेन्द्रले सत्तानियन्ता र प्रतिपक्षी संसदको ठूलो दल समेतलाई आफूले नौटङकी नाचको टेलर मात्र प्रदर्शन गरेको जस्तो लाग्छ । जेहोस्, यसै अंकमा लेख्ने विषय खोज्दा माथि उजागर भए जस्ता जे जति कुरा देखा परे, आजसम्म परिवर्तनकै एकसूत्रीय लक्ष्य राखेर अनवरत आन्दोलन र संघर्ष गर्नुको उपलब्धी भनेको “शून्यता र मात्र शून्यता रहेछ” भन्ने लाग्यो । तर त्यस्तो तथ्य वा तत्वबोध भएको विषयमा नै लेख्नुपर्छ भन्ने टुंगोतिर जान पनि उचित लागेन । त्यसैले “शून्यमा हराएको शून्य वर्तमान” मा नै केन्द्रित भई लेख्ने सोचले “शून्यमा शून्यसरी हराएको” प्रसङ्गतिर जाउँ भन्ने लाग्यो ।
“शून्यमा शून्य सरी…..” नेपाली साहित्यको श्रीवृद्धिका लागि आफ्नो जीवन पर्यन्त साधना गर्दा गर्दै चरम अभावर गरिबीले असमयमानै आर्यघाट पुगेपछि “महाकवि” लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए–
“म शून्यमा शून्यसरी हराएँ” त्यो “शुक्ल यजुर्वेदको अन्तिम (चालीसौँ) अध्यायमा “ओम खृम बह्मो” भनी उल्लेख गरिएको वैदिक मन्त्रसँग मिल्दछ । अद्वैत वेदान्तवादीहरुले त्यही वैदिक मन्त्रमा विश्वास केन्द्रित गर्दै “ब्रह्म सत्यम् जगत् मिथ्या, बहो एकैव नापर” भन्नेमा अब्ैत सार सूत्रमा ज्ञान केन्द्रित गरी ध्यान र साधना गर्छन् । तर देवकोटा ब्रह्म र अद्वैतवादी भएर मृत्यु शैयामा पुगेपछि त्यस्तो सत्यबोध गरेका थिएनन् । आफूलाई देश र समाजले औषधोपचार गरिदिनेतिर समेत चासो र चिन्ता नदेखाएकोमा आफू रोगलेभन्दा गरिवीका कारणबाट पूर्णतः निराशावादी भएर त्यस्ते लेखेका होलान् भन्ने लाग्छ ।
यहाँको प्रसङ्ग वा सन्दर्भ सात दशकको समयावधि, सात प्रकारका अधिशासन, सातवटा संविधानले अन्तोगत्वा उहिलेको बेला रैती पूजा भएर २/३ किसिमका करभार बोक्नुपर्दा चर्को भयो भन्ने “भुईका मान्छे” लाई गएको सोम–मंगलबारतिरको कान्तिपुर टि.भी ले सार्वजनिक गरे जस्तै ३०/३१ किसिमका करभार बेहोर्नुप¥यो । सात प्रदेश मातहतका ७५३ जोड ७ र थप पुरानो सिंहदरवारका सरकारले त्यसैलाई जसरी बलिदानीपूर्ण संघर्षको उपलब्धीको रुपमा व्याख्या गरिरहेको छ, त्यही कारणले कुनै पनि दल र शासन प्रणालीप्रति विशेष आकर्षण रहेनछ । यस्तो “महान् उपलब्धी” आम “अभाव पीडित” नेपालीका लागि “कागलाई बेला पाकेको” वा “वानरको शिकार” बाहेक केही हुनसकेको छैन ।
तर पनि सीमान्त गरीब, विपन्न, भुइमान्छे, समाज समुदायको दयनीय आर्थिक अवस्थालाई नजीकबाट नियालिरहेका इमान्दार अर्थविद मित्रहरुलाई नमालुम् कस्तो क्रान्तिकारी र संघर्षशीलताको धङधङीले नछोडेर हो ? केही दिन पहिले मात्र राष्ट्रिय समाचार (गो.प ४ मंसीरमा) पत्रमा छापिएको” प्रधानमन्त्री रोजगार कार्यक्रमको नामा खर्च भएको १७ अर्बको सूको दाम पनि बालुवाटार र उसका भजने, भोजने र भाडाका लडाका बाहेकले नपाएको कुरा पत्याएनछन् ।
“परिवर्तन” र “प्राप्त उपलब्धी” ले सत्तासीन दलका नेता कार्यकर्ताको जीवनस्तर अस्वभाविक रुपले बढिरहेको, माफिया, कमिशन एजेण्ट, विचौलिया, ठूला ठेकेदार, तस्कर, काला बजारिया कतै पनि देखेनन् । सायद अप्राकृतिक अभाव, मूल्यवृद्धिले “मर्ने न बाँच्ने” स्थितिमा पुर्याइरहेको, तिनैका (भुइमान्छेका) नवजात शिशुको टाउकोमा झण्डै ६० हजारको अंकबाट प्रतिवर्ष उकालो चढदै गरेको वैदेशिक ऋणबाट केही मुठ्ठीभर देशी–विदेशी कुख्यात र कालोधनबाट धनाढ्य बनेकैलाई पोसी उसको लित्को–पित्कोबाट पार्टी चलाउने मौलाउँदो प्रकृतिबाट राष्ट्रको स्वतन्त्रता अखण्डताको जग नै चर्मराउँदै, धर्मराउँदै र चेरा पार्दै गरेकोतिर ध्यान गएन छ ।
त्यस्ता “कोरा अर्थशास्त्रविज्ञ, पेशेवर बुद्धिजिवी, नागरिक समाजहरुलाई आजपनि उहिले “निरङकुश तरिकाले राज्यहाँकोका” “राजा” र “प्रतिगमन”को भूतले नराम्ररी तर्साइरहेको रहेछ । त्यो उनीहरुको मनमथिङ्गलभित्र २०५१ असार २६ गते आफ्नो पार्टीको एकल बहुमतको छँदोखादो प्रतिनिधिसभा विघटनसँगै जी.पी कोइरालाले घुसाएको “प्रतिगमन” र “प्रतिक्रान्ति”को संत्रास के.पी ओलीले २०७७ औ ५ मा झण्डै दुईतिहाई बहुमत पाएर गणतन्त्रको पहिलोपटकको कम्युनिष्ट सरकार र प्रतिनिधि सभा विघटनपछि के.पी बालुवाटार दरवारबाट निस्कनु पहिले ओलीले नारायणहिटी राजदरमा गएर पूर्वराजा ज्ञानेन्द्रलाई बुझाउँदछन् भन्ने परेछ ।
सायद त्यही संविभ्रमबाट हो कि, त्यस्तै मित्रहरुले अहिले चोलेन्द्रले उनीसँग रगत र कुटुम्बको सम्बन्ध जोडिएका पूर्वराजा ज्ञानेन्द्रलाई लगेर नेपालको शासनसत्ता बुझाउने जालझेल र खेलको रुपमा, झण्डै एक महिनाको नेटो नाघेर अघि बढ्दै गरेको सर्वोच्च अदालतबाट देशभर संग्रालिँदै गएको आन्दोलनको रुपमा अथ्र्याए । विधि विधान र त्यो नबुझेर न्याय निशाफ शून्यताजनित अराजकताको डढेलो निभाउन राजनीतिक दलहरुदेखि सधैँ सडक संघर्षमा राँसिने र हाँसिने आम जनता अग्रस हुनुको साटो रमिते बनेको भने ।
तर माथि भने झैँ, आजसम्मका सम्पूर्ण संघर्ष परिवर्तन, संविधान र विविध प्रकारका शासन प्रशासनबाट “देशको उन्नतिमा खर्चिएको हजारौँ अर्बको विकास र त्यसको प्रकाश देख्न नपाएका, झुप्रो झुपडीभित्रै पुस्तौँ बिताएका आम नेपालीले सधैँ शून्य हात परेको” जब देखिरहेछ । उस्ले देशमा अराजकताको आगो बल्दा “हामी सधैँ शून्यमा शून्यसरी हराएका पारिएकाहरुले “कोई होय, नृप हमें का हानी !” को कोरस गान गाएर देश र दल भड्खारोमा गए पनि तमासे बनी बस्दा किन अनौठो मान्ने–ठान्ने ? उनीहरुको पीर पीडा कथा–व्यथा यो राज्य, राजा, दल, नेता न्यायालयले कहिल्यै सुने गुहार दिए र ?
प्रतिक्रिया राख्नुहोस्