जन सरोकार

दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको सीमा क्षेत्रमा रहेको सौर्य विद्युतीय घेराबारा तोडेर दैनिक ठूलो सङ्ख्यामा नेपाल प्रवेश गर्ने जङ्गली हात्तीका कारण स्थानीयवासीमा त्रास फैलिएको छ ।

भारतबाट पसेका हात्ती

हात्तीको प्रवेश रोक्न निर्माण गरिएको विद्युतीय संरचना र खटिएका सुरक्षाकर्मीको घेरा तोडेर साँझ परेपछि हात्तीको बथान बाहुनडाँगीतर्फ आउने गरेको छ । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले सुरक्षाका लागि उच्च सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गर्नुभएको छ ।

किसानको धानबाली भित्राउन बाँकी नै रहेकाले हात्तीले थप क्षति पुर्याउन सक्ने चिन्ता बढेको उहाँले बताउनुभयो । पाकेको धानबाली जोगाउन जिल्ला प्रशासन कार्यालय झापाको पहलमा केही दिनयता सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिँदै आएको थियो ।

“सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोलीले छेक्न प्रयास गर्दागर्दै हात्तीको बथान नेपाल छिरेको हो,” वडाध्यक्ष कार्कीले भन्नुभयो, “किसानले भर्खरै काटेको धानको पाँजा र कुन्यु खेतमै छ । हात्तीले धानको कुन्युमा व्यापक क्षति पु¥याएको छ ।”

हात्तीको बथान भित्रिन सक्ने जोखिम देखिएपछि केही दिन पहिल्यै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सुरक्षा निकायका प्रमुखसहित बाहुनडाँगीका मुख्य नाकाको अनुगमन गरी किसानलाई छिटो धान भित्र्याउन अपिल गर्नुभएको थियो ।

प्रजिअ पोखरेलको अनुगमनलगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली किसानलाई धान काट्न सघाउने अभियानमा जुटेको थियो । उक्त अभियानमा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र स्वयम्सेवक युवाको समूह सक्रिय भएको थियो ।

भारतको दार्जिलिङ र जलपाइगुढी जिल्लास्थित महानन्दा वन्यजन्तु आरक्षबाट सयको सङ्ख्यासम्म जङ्गली हात्तीको बथान सीमावर्ती मेची नदी तरेर बाहुनडाँगी आउने गरेका छन् । विशेषगरी धान र मकै पाक्ने मौसममा भारतीय जङ्गलबाट दिनहुँ आउने हात्तीको बथानले यस क्षेत्रमा जनधनको क्षति पुर्या उँदै आएको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.