सुनको मूल्य तोलामा १२ हजार २०० रुपैयाँ घट्यो
एक सातामै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ८.९ प्रतिशतले ओरालो
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेपछि त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपालमा शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार यसको मूल्य प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला तीन हजार ३३५ रुपैयाँ रहेकामा शुक्रबार घटेर तीन हजार ११० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नुको मुख्य कारण अमेरिकी डलरको मजबुती र अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउन सक्ने अपेक्षा रहेको छ ।
अमेरिकी अर्थतन्त्रका पछिल्ला आर्थिक सङ्केत तथा मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर थप बढाउनुपर्ने बहसले लगानीकर्ताको अपेक्षा परिवर्तन गरेको छ ।
ब्याजदर बढ्ने सम्भावना बलियो बन्दा अमेरिकी सरकारी ऋणपत्रको प्रतिफलसमेत बढेको छ । यसले ब्याज आम्दानी नदिने सुनमा लगानी गर्नुभन्दा अन्य वित्तीय उपकरणतर्फ लगानीकर्ताको आकर्षण बढाएको छ ।
अमेरिकी डलर बलियो हुँदा डलरमा मूल्य निर्धारण हुने सुन अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि महँगो पर्छ । यसले अन्तर्राष्ट्रिय बजारमा सुनको माग कमजोर बनाउँदै मूल्यमा थप दबाब सिर्जना गरेको छ ।
त्यस्तै, उच्च ब्याजदरको अपेक्षाले सुनमा लगानी गर्दा प्राप्त हुन सक्ने अवसर लागत बढाएकाले पनि लगानीकर्ताले सुन बिक्री गर्न थालेका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.९ प्रतिशतले घटेर प्रतिऔँस तीन हजार ५५१ दशमलव ६८ अमेरिकी डलरमा झरेको थियो ।
यसअघि सुनको मूल्य सन् २०२५ सेप्टेम्बरयताकै न्यून विन्दुमा पुगेको थियो । यो साता मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ८.९ प्रतिशतले घटेको छ, जुन आठ महिनायताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो ।
विश्लेषकहरूले अमेरिकी डलरको मजबुती, उच्च प्रतिफल दिने सरकारी ऋणपत्रप्रतिको आकर्षण र आगामी डिसेम्बरमा फेडरल रिजर्भले ब्याजदर बढाउने सम्भावनालाई सुनको मूल्यमा आएको गिरावटका प्रमुख कारण मानेका छन् ।
सामान्यतया आर्थिक तथा भूराजनीतिक अनिश्चितता बढ्दा सुरक्षित लगानीका रूपमा सुनको माग बढ्ने गर्छ । तर, पछिल्लो समय त्यस्तो जोखिमबाट सुरक्षित हुन सुनमा लगानी गर्ने प्रवृत्तिभन्दा उच्च ब्याजदर र बलियो डलरबाट लाभ लिन सकिने विकल्पप्रति लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।




प्रतिक्रिया राख्नुहोस्