निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति र संशोधित विधान अद्यावधिक गरेको छ । निर्वाचन आयोगले बुधबार गगन थापा नेतृत्वको कांग्रेसको कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको हो ।
कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन सम्पन्न गरी निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न कात्तिक १६ गते आयोगमा निवेदन दिएको थियो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्राप्त निवेदन र कागजात अध्ययन पश्चात् आज मंसिर ९ गते बुधबार आयोगको बैठकले कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।
यससँगै विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले नियमित महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरी पार्टीको संस्थागत संरचनालाई निरन्तरता दिएको छ ।
विशेष महाधिवेशनबाट स्थापित नेतृत्वलाई आयोगले मान्यता दिएपछि सर्वोच्च अदालतले समेत त्यसलाई सदर गरेको र अहिले नियमित १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अद्यावधिक भएपछि पार्टीको संस्थागत नेतृत्वको विवाद कमजोर भएको छ ।
कांग्रेसभित्रको विवाद गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि उत्कर्षमा पुगेको थियो । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का उक्त निर्णय तथा निर्वाचन आयोगको मान्यताविरुद्ध सर्वोच्च अदालत पुग्नुभएको थियो ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई गत माघ २ गते मान्यता दिएपछि देउवा र खड्काले त्यसविरुद्ध रिट दायर गर्नुभएको थियो ।
सर्वोच्च अदालतले वैशाख ४ गते आयोगको निर्णय सदर गर्दै रिट खारेज गरेपछि विशेष महाधिवेशनबाट स्थापित नेतृत्वको पक्षमा न्यायिक निर्णय आएको थियो ।
समानान्तर महाधिवेशन र संगठन विस्तार
सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रिया अघि बढिरहेका बेला देउवा पक्षले आफू नै पार्टीको संस्थापन र आधिकारिक नेतृत्व रहेको दाबी गर्दै छुट्टै १५औँ महाधिवेशन गर्ने घोषणा गरेको थियो । त्यसअनुसार उसले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी अघि बढाएको थियो ।
देउवा पक्षले केन्द्रीय महाधिवेशनको तयारी मात्र नगरी वडा, पालिका र जिल्ला तहमा अधिवेशनहरू समेत गर्दै आएको छ । यसअघि नै सयौँ पालिका र दुई दर्जनभन्दा बढी जिल्लामा अधिवेशन सम्पन्न गरेको विवरण सार्वजनिक भएको थियो ।
पार्टीको नियमित महाधिवेशन र संगठनात्मक प्रक्रिया अघि बढाएको दाबी गर्दै देउवा समूहले आफ्नो राजनीतिक तथा सांगठनिक अस्तित्व कायम राख्ने प्रयास गरेको छ ।
यसबीच कांग्रेसभित्र देउवा पक्षले सर्वोच्च अदालतको पुनरावलोकनबाट पार्टीको आधिकारिकता आफूले प्राप्त गर्ने अपेक्षा राखेको र निर्वाचन आयोगको निर्णय पनि त्यसैअनुसार हुन सक्ने विभिन्न राजनीतिक अड्कलबाजी भइरहेका थिए ।
आयोगले गगन नेतृत्वको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गर्न ढिलाइ गर्दा त्यस्ता अड्कलबाजीले थप बल पाएको थियो । आयोगले तत्काल विवरण अद्यावधिक नगर्दा पार्टीभित्र र राजनीतिक वृत्तमा प्रश्न उठेका थिए ।
आयोगले कागजात, विधानको व्यवस्था, महिला प्रतिनिधित्वलगायतका विषय अध्ययन गर्नुपर्ने र सरकारी बिदाका कारण प्रक्रिया लम्बिएको बताउँदै आएको थियो ।
तर विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण यसअघि निवेदन दिएको भोलिपल्टै अद्यावधिक गरिएको र नियमित १५औँ महाधिवेशनपछि भने लामो समय निर्णय रोकिएको घटनाले आयोगको भूमिकामाथि प्रश्न उठाएको थियो ।
आयोगको पछिल्लो निर्णयले त्यस्ता अड्कलबाजीलाई तत्कालका लागि विराम लगाएको छ । गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक गर्दै आयोगले विशेष महाधिवेशनबाट स्थापित नेतृत्वको निरन्तरता र त्यसपछि सम्पन्न नियमित १५औँ महाधिवेशनबाट आएको नयाँ कार्यसमितिलाई संस्थागत अभिलेखमा समेटेको छ ।
निर्वाचन आयोगको निर्णयसँगै देउवा पक्षको राजनीतिक तथा संगठनात्मक बाटो थप चुनौतीपूर्ण बनेको देखिन्छ । आयोगले गगन नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गरेपछि देउवा पक्षले समानान्तर महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरे पनि त्यसलाई आयोगबाट मान्यता पाउने आधार कमजोर बनेको छ ।
सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रिया बाँकी रहे पनि आयोगको पछिल्लो निर्णयले गगन नेतृत्वको संस्थागत हैसियत थप बलियो बनाएको छ ।
अब देउवा पक्षका सामु मूलतः दुई राजनीतिक विकल्प देखिन्छन्—आफ्नै नेतृत्वमा नयाँ दल गठन गरेर अघि बढ्ने वा गगन नेतृत्वको कांग्रेसमा समाहित हुँदै पार्टीभित्रै राजनीतिक स्थान खोज्ने ।




प्रतिक्रिया राख्नुहोस्