२०८३ साल भदौ १० गते विहान भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीको तीन महिना बित्दा पनि सयौँ परिवार आफन्तको खोजी र पर्खाइमा छन्। बाढीमा बेपत्ता भएकाहरूको कानुनी अवस्था टुंग्याउन सरकार अध्यादेशमार्फत बाटो खुलाएर मृत घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ।
तर उद्धार, राहत, क्षतिपूर्ति र पुनर्निर्माणको काम अझै चुनौतीपूर्ण छ। विपद्पछिको आवश्यकता मूल्यांकनअनुसार प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि करिब ७ खर्ब ६ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
कानुनी अड्चन हटाउन अध्यादेश
बाढीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गरी मृत्यु दर्ता गराउने प्रक्रिया कानुनी जटिलताका कारण सहज थिएन। प्राकृतिक विपद्मा हराएका व्यक्तिको अवस्था लामो समयसम्म यकिन नहुँदा परिवारले सम्पत्ति, बीमा, सामाजिक सुरक्षा, राहत तथा अन्य प्रशासनिक काम अघि बढाउन कठिनाइ भोग्दै आएका थिए।
त्यसलाई सम्बोधन गर्न सरकारले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरी विपद्मा बेपत्ता व्यक्तिलाई सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था गरेको हो।
अध्यादेशले कानुनी प्रक्रिया सहज बनाएपछि स्थानीय तह, जिल्ला प्रशासन र विपद् व्यवस्थापन निकायमार्फत विवरण प्रमाणीकरण गरी मृत घोषणा र मृत्यु दर्ताको बाटो खुलेको छ।
मृतक र बेपत्ताको संख्या
बाढीमा परी हालसम्म १ हजार ४६४ जनाको मृत्यु भएको र ५ हजार २८५ जना बेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ। मृतकमध्ये ११० जनाको मात्र शव पहिचान गरी परिवारलाई बुझाइएको थियो। बेपत्तामध्ये सरकारले दुई चरणमा ३ हजार ९१५ जनाको विवरण यकिन गरेको छ।

यकिन भएकामा ३ हजार २९२ नेपाली र १९ देशका ६२३ विदेशी नागरिक छन्। अझै १ हजार ३७० जनाको विवरण पुष्टि हुन बाँकी छ। सरकारले यकिन भएका बेपत्तालाई मृत घोषणा गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ।
राहत, क्षतिपूर्ति र विदेशी सहायता
सरकारले प्रभावित जिल्लाका स्थानीय तह तथा समुदायका लागि राहत रकम उपलब्ध गराएको छ। रसुवा र नुवाकोटलाई एक/एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ तत्काल नगद सहायता उपलब्ध गराइएको थियो। प्रभावित १५ स्थानीय तहका लागि थप १३ करोड ५० लाख रुपैयाँ परिचालन गरिएको विवरण छ।
बेपत्ता व्यक्तिलाई मृत घोषणा भएपछि परिवारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ राहत पाउने व्यवस्था छ। विस्थापित परिवारका लागि चार जनासम्मको परिवारलाई १५ हजार र थप सदस्यका लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले बसोबास तथा जीविकोपार्जन अनुदानको व्यवस्था गरिएको छ।
विपद्पछि भारत, चीन, अमेरिका, बेलायत, विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राष्ट्रसंघलगायत विभिन्न देश तथा संस्थाले राहत, उद्धार र पुनर्निर्माणका लागि सहयोग घोषणा गरेका छन्। अर्थ मन्त्रालयको विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी तथा विदेशी स्रोतबाट रकम जम्मा भइरहेको छ।
संयुक्त राष्ट्रसंघ र साझेदार निकायले प्रभावित ८४ हजारभन्दा बढी नागरिकलाई सहायता पुर्याउने लक्ष्यसहित ४ करोड ९६ लाख अमेरिकी डलर (करिब ७ अर्ब ५४ करोड रुपैयाँ) बराबरको आकस्मिक सहायता अपिल गरेका थिए।
विश्व बैंकले पनि करिब १७ करोड अमेरिकी डलर अर्थात् २५ अर्ब रुपैयाँभन्दा बढी परिचालन गर्न सकिने सहायता घोषणा गरेको छ, यद्यपि उक्त रकम तत्काल प्राप्त अनुदान नभई विभिन्न स्रोतबाट परिचालन गर्न सकिने सम्भावित सहायता हो।
पुनर्निर्माणमा ठूलो वित्तीय चुनौती
बाढीले सडक, पुल, जलविद्युत् आयोजना, निजी आवास, विद्यालय, स्वास्थ्य संस्था तथा व्यापार व्यवसायमा ठूलो क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) अनुसार प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्निर्माण र पुनर्लाभका लागि करिब ७ खर्ब ६ अर्ब ६५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ।

यो रकम जुटाउनु, प्राथमिकताका आधारमा खर्च गर्नु र प्रभावित समुदायको जीवन तथा आर्थिक गतिविधि पुनःस्थापित गर्नु सरकारका लागि दीर्घकालीन चुनौती बनेको छ।
बेपत्ताको कानुनी अवस्था टुंग्याउने प्रक्रिया अघि बढे पनि पीडित परिवारका लागि राहत, क्षतिपूर्ति, पुनर्स्थापना र मानसिक पीडाको सम्बोधन उत्तिकै महत्त्वपूर्ण छ।
बाढीबाट भएको क्षतिको पुनर्निर्माणसँगै बेपत्ता परिवारको पीडा, जीविकोपार्जन गुमाएका नागरिकको अवस्था र प्रभावित क्षेत्रको दीर्घकालीन पुनरुत्थानलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।




प्रतिक्रिया राख्नुहोस्